काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५, थामे गाउँमा शुक्रबार दिउँसो हिमताल फुटेर बाढी आएको पुष्टि भएको छ । बाढी आएको क्षेत्रको अवलोकनमा गएका सरकारी अधिकारीले यसको पुष्टि गरेका हुन् ।
सो बाढीले थामे गाउँमा विद्यालय, छात्रावास, स्वास्थ्य चौकी, होटल र व्यक्तिगत घरसहित २० भन्दा बढी भौतिक संरचनामा क्षति पुर्याएको थियो । अचनाक भीषण बाढी आउँदा हिमताल फुटेको हुन सक्ने अनुमान गरिएको थियो ।
शनिबार बिहान राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकोप्टरबाट अवलोकन गरेको थियो ।
त्यस क्रममा थामेखोलाको मुहान क्षेत्रमा रहेका ५ वटा हिमतालमध्ये २ वटा फुटेको पाइएको हो ।
अवलोकनमा गएकाहरूलाई उद्धृत गर्दै सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले अझै २ वटा हिमताल जोखिममा रहेको बताइन् ।
सो बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका-३, फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लो क्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको छ ।
FACEBOOK COMMENTS