काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनबारेको विवादमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया रोक्न माग गर्दै दायर भएको रिटमा न्यायाधीशद्वय लालबहादुर कुँवर र दीपक खनालको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
अदालतको यो फैसलासँगै भोलि (शुक्रबार) हुन लागेको उल्लेखित दुई पदको निर्वाचन प्रक्रिया निरन्तर अघि बढाउने बाटो खुलेको छ ।
निर्वाचन प्रक्रिया सुरू गर्नुअघि शुक्रबार बिहान ९ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ ।
वैशाख २१ र २२ गते भएको महासंघको ६०औँ साधारणसभा तथा निर्वाचन कार्यक्रममार्फत तीन जना उपाध्यक्षसहित ७३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरिसकेको छ । महासंघको विद्यमान विधान अनुसार अघिल्लो कार्यसमितिका वरिष्ठ उपाध्यक्ष अन्तिम पटकका लागि स्वत: अध्यक्ष बनेका छन् भने वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष नवनिर्वाचित कार्यसमितिले चयन गर्ने प्रावधान छ ।

वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल, सुरकृष्ण वैद्य, भरतराज आचार्य, रामचन्द्र सांघाई आकांक्षी देखिएका छन् । यस्तै, कोषाध्यक्षमा अम्बिका प्रसाद पौडेल, भक्त हमाल र मनिष लाल प्रधानको चर्चा छ । आकांक्षीहरूले भोलि मनोनयन दर्ता गर्ने छन् ।

यो पनि पढ्नुहोस्–

वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्दै महासंघ, कुन् पदमा को छन् उम्मेदवार ?