काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वैशाख २१ र २२ गते भएको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रमबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने तयारी गरिएको छ ।
महासंघको सम्पन्न निर्वाचनबाट जिल्ला/नगर, वस्तुगत र एसोसिएट्स गरी तीन जना उपाध्यक्षसहित विभिन्न पदमा ७३ जना निर्वाचित गरे पनि दुईवटा महत्वपूर्ण पदको पूर्ति अझै बाँकी छ । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको पदपूर्ति केन्द्रीय कार्यकारिणी सदस्यहरूबाट गरिने भएकाले बाँकी राखिएको हो ।
सो पदपूर्तिका लागि महासंघले आगामी शुक्रबारको मिति तय गरेको छ । उक्त दिन महासंघको एक जना वरिष्ठ उपाध्यक्ष र एक जना कोषाध्यक्ष चयन गरिने तयारी छ ।
वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्ने मिति तय भएसँगै उक्त पदका आकांक्षीहरूबारे पनि पुन: चर्चा सुरू हुन थालेको छ । प्राप्त जानकारी अनुसार वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल, सुरकृष्ण वैद्य, रामचन्द्र सांघाइ र भरत राज आचार्यको दाबी छ ।
वरिष्ठ उपाध्यक्षका आकांक्षी ढकाल यसअघिको केन्द्रीय कार्यसमितिमा वस्तुगत उपाध्यक्ष, वैद्य जिल्ला नगर उपाध्यक्ष र आचार्य कोषाध्यक्ष थिए भने सांघाई एसोसिएट्सतर्फका पूर्व उपाध्यक्ष हुन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष बन्न कम्तिमा तीन कार्यकाल महासंघको सदस्य वा एक कार्यकाल पदाधिकारी भइसकेको हुनुपर्ने छ ।

‘महासङ्घमा एकजना वरिष्ठ उपाध्यक्ष रहने र वरिष्ठ उपाध्यक्ष कुनै पनि सदस्य समूहमध्येबाट कम्तीमा तीन कार्यकाल सदस्य भइसकेको वहालवाला कार्यकारिणी समिति सदस्य वा एक कार्यकाल पदाधिकारी भइसकेको व्यक्ति मध्येबाट कार्यकारिणी समितिले वरिष्ठ उपाध्यक्ष चयन गर्नेछ,’ महासङ्घको विधानको दफा २९ (५) मा भनिएको छ । सोही अनुसार उनीहरू सो पदको आकांक्षीका रूपमा खडा भएका हुन् ।

यी उम्मेदवारहरूमध्ये हेमराज ढकाल निवर्तमान अध्यक्ष चन्द्र ढकाल समूहका हुन् भने बाँकी तीनै जना उम्मेदवारहरू वैद्य, सांघाइ र आचार्य नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठ समूहका हुन् । यसअघि सम्पन्न निर्वाचनमा ढकाल र श्रेष्ठले छुट्टाछुट्टै समूह बनाएर निर्वाचन प्रतिस्पर्धा गरेका थिए । विधान अनुसार वरिष्ठ उपाध्यक्ष रहेका अञ्जन श्रेष्ठ स्वत: अध्यक्ष बनेका हुन् ।

यस्तै, एक जना कोषाध्यक्ष पदका लागि दुई उम्मेदवारको चर्चा छ । प्राप्त सूचना अनुसार अम्बिका प्रसाद पौडेल र मनिष लाल प्रधानले कोषाध्यक्ष दाबी गरेका छन् । पौडेल नवनिर्वाचित कार्यसमितिका एसोसिएट्स सदस्य हुन् भने प्रधान पूर्व सदस्य हुन् ।
कोषाध्यक्षबारे महासंघको विधानमा लेखिएको छ, ‘महासंघमा रहने एक जना कोषाध्यक्ष सम्पूर्ण कार्यकारिणी समितिमध्येबाट चयन गरिनेछ र कम्तिमा दुई कार्यकाल सदस्य भइसकेको बहालवाला सदस्य मात्र उक्त पदमा उम्मेदवार बन्न सक्नेछ ।’
सहमतिको प्रयास जारी
यसैबीच महासंघका नवनिर्वाचित अध्यक्ष अन्जान श्रेष्ठले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष सर्वसम्मत रुपमा चयन गर्ने प्रयास भइरहेको बताएका छन् । कर्पोरेट खबरसँगको कुराकानीमा अध्यक्ष श्रेष्ठले महासंघको विधान अनुसार निर्वाचित केन्द्रीय कार्यसमितिले यी पद चयन गर्ने भए पनि सहमतिको प्रयास भइरहेको बताएका हुन् ।
सकेसम्म सहमतिका आधारमा नेतृत्व चयन गरिने बताउँदै अध्यक्ष श्रेष्ठले सहमति हुन नसकेको अवस्थामा लोकतान्त्रिक प्रक्रिया अनुसार निर्वाचनमार्फत टुंगो लगाइने स्पष्ट पारे । महासंघभित्र आगामी नेतृत्व चयनलाई लिएर विभिन्न समूह सक्रिय भइरहेका बेला अध्यक्ष श्रेष्ठको अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।