काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र प्रसाद ढकालले गैरआवासीय नेपालीहरूको पूँजी, सिप र अनुभवलाई नेपालको आर्थिक विकासर समृद्धिसँग जोड्न आग्रह गरेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित कार्यसमितिलाई शुक्रबार महासंघ सचिवालय, टेकुमा स्वागत गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै गैरआवासीय नेपालीहरूको पूँजी, सिप र अनुभवलाई नेपालको विकासमा लगाउनु पर्ने बताएका हुन् ।
उनले महासंघको पहलमा धेरै नीतिगत सुधारहरू भएकाले अब लगानीको लागि पनि सहज वातावरण बन्दै भउको धारणा व्यक्त गरेका छन् । ‘महासंघले नीतिगत तथा प्रक्रियागत जटिलता न्यूनीकरण गर्ने, वैदेशिक लगानी भित्र्याउन अनुकूल वातावरण निर्माण गर्ने तथा अन्य प्रक्रियागत सरलीकरणका विषयमा विषयमा नेपाल सरकारसँग धेरै ठूलो लविङ गरेर थुप्रै नीतिगत सुधारहरू गरेका छौं । हामीले राम्रो सहकार्य गर्न सक्यौँ नेपाल र नेपालीका लागि धेरै गर्न सक्छौं,’ उनले भने ।
अध्यक्ष ढकालले महासंघले पछिल्लो समय महासंघको पहलमा १० अर्ब रूपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरिएको र उक्त कम्पनीमार्फत ऊर्जा, पूर्वाधार, पर्यटन तथा अन्य उत्पादनशील क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने काम भइरहेको बताउँदै एनआरएनएलाई सो कम्पनीमा लगानी गर्न तथा सम्भावित परियोजनाहरूमा सहलगानीका लागि पनि आग्रह गरे ।
सो अवसरमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले गैरआवासीय नेपालीहरू पनि नेपालको विकासमा साझेदार बन्न चाहेको धारणा व्यक्त गरे । ‘विविध कारणले गैरआवासीय मुभमेन्ट कमजोर भएको अवस्था थियो । अहिले हामीले सर्वसम्मत रूपमा एकताको महाधिवेशन सम्पन्न गरेका छौँ । नेपाली डायस्पोरा एक हुँदा त्यसले दिने सन्देश र नेपालमा गर्ने कामबारे थप स्पष्टता हुनेछ । हामी हाम्रो ज्ञान, सिप र पूँजीलाई नेपालको विकासमा लगाउन सक्छौं भन्ने नै हाम्रो पनि जोड हो,’ अध्यक्ष शर्माले भने ।

सो अवसरमा महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले देशको आर्थिक समृद्धिका लागि लगानी आवश्यक भएको उल्लेख गर्दै नेपालका विभिन्न क्षेत्रमा एनआरएनहरूले लगानी गर्न सक्ने धारणा व्यक्त गरे । यस्तै, महासंघका कोषाध्यक्ष भरतराज आचार्यले अन्य क्षेत्रको लगानी सँगसँगै नेपालमा नजेज इकोनोमीको क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

सो अवसरमा नेपालका प्राथमिकता प्राप्त क्षेत्रहरू पर्यटन, ऊर्जा, पूर्वाधार विकास, यातायात, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीका सम्भावनाबारे छलफल भएको थियो ।

FACEBOOK COMMENTS