काठमाडौं । लाखौं नागरिकहरूलाई स्वरोजगार र स्थानीय रोजगारीको अवसरका साथै स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन नै अहिलेको मुख्य आवश्यकता भएको सरोकारवालाहरूले बताएका छन् ।
लघु, घरेलु तथा साना उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासङ्घ स्थापनाको ३६औं वर्षमा प्रवेश गरेको अवसरमा राजधानीको माइतीघरस्थित महासङ्घको सचिवालयमा आयोजना गरिएको स्थापना दिवसमा बोल्नेहरूले यस्तो बताएका हुन् ।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले लघु, घरेलु तथा साना उद्योग नेपालको वास्तविक आर्थिक संरचना र सम्भावनाको प्रतिबिम्ब भएको भन्दै यस्ता उद्योगबिना दिगो, समावेशी र आत्मनिर्भर अर्थतन्त्रको कल्पना गर्न नसकिने बताए ।
राज्यले नीतिगत, वित्तीय र प्रविधिगत सहयोग पुर्याए यिनै उद्योगहरूले नेपाललाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने सामर्थ्य राख्ने उनको भनाइ थियो ।
आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा सहयोगी हुने यस्ता उद्योगहरूले ग्रामीण र विकट क्षेत्रको आर्थिक उत्थान गर्नुका साथै साना उद्योगहरू गाउँ–गाउँमा खोल्न सकिने भएकाले क्षेत्रीय असमानता घटाउनेतर्फ अध्यक्ष सिँहले ध्यानाकर्षण गराए ।

स्थानीय स्रोतसाधन र सीपको उपयोग गर्दै महिलाहरू, युवा र विपन्न समुदायको सशक्तीकरणमा सहयोग पुर्याउने यस्ता उद्योगमा ठूला उद्योगको तुलनामा कम लगानी, कम जोखिम र अधिक लचिलोपना हुने भन्दै उनले भने, ‘नेपालजस्तो मुलुकमा ठूलो उद्योग सञ्चालनका लागि भौगोलिक, पुँजीगत र पूर्वाधारसम्बन्धी सीमितता छन् । यहाँ लघु, घरेलु तथा साना उद्योग नै आर्थिक गतिशीलताको मेरुदण्ड बन्न सक्छन् ।’

सरकारले विगतमा दिँदै आएको सहुलियतपूर्ण कर्जा, पुनरकर्जाका बारेमा आगामी आर्थिक वर्षको बजेट मौन देखिएकोले यसलाई निरन्तरता दिनका लागि आगामी दिनमा यस्ता कुराको आवश्यक व्यवस्था हुनुपर्नेमा अध्यक्ष सिंहले जोड दिए ।

महासङ्घका निवर्तमान अध्यक्ष श्याम गिरीले लघु, घरेलु तथा साना उद्योगहरूलाई अर्थतन्त्रको इञ्जिन भने पनि व्यवहारमा देख्न नसकिएको बताए । लघु, घरेलु तथा साना उद्यमीहरूको हकहितको पैरवी गर्न महासङ्घ स्थापना भएको भन्दै उनले नेपाल भरका लघु, घरेलु तथा साना उद्योगीहरूको छाता सङ्गठनको रूपमा विकास भएको बताए ।
कार्यक्रममा महासङ्घका सल्लाहकार लता प्याकुरेल, वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल, उपाध्यक्षहरू शेभा गुरुङ, मुकेश उपाध्याय, राजेन्द्रमान श्रेष्ठ, चन्दनकृष्ण श्रेष्ठ, हरिहर थापा, सत्यनारायण प्रजापति, शान्ता बास्कोटा, मोहन कटुवाल, महासचिव डम्बर प्रसाद रेग्मी, केन्द्रीय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रिता अवाल लगायतले आफ्ना शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष महाप्रसाद सुवेदी, लुम्बिनी प्रदेशका अध्यक्ष गणेशप्रसाद अधिकारी, कर्णाली प्रदेशकी अध्यक्ष गोमा ओली, सुदूरपश्चिम प्रदेशकी अध्यक्ष रुक्मिणी देवकोटा, महासङ्घका सचिव रुद्र न्यौपाने, केन्द्रीय महिला उद्यमी समिति बागमती प्रदेशका उपाध्यक्ष सुलोचना श्रेष्ठ, केन्द्रीय महिला उद्यमी समितिकी सचिव दीपा शाक्य, महासङ्घ केन्द्रीय सदस्यहरू रामहरि तोलाङ, पूर्ण पाण्डे, यादव अधिकारी, कमल सिंह, भेषराज पाण्डेलगायतको उपस्थिति थियो ।
स्थापना दिवस महासङ्घ केन्द्रका साथै प्रदेश, जिल्लादेखि पालिकासम्म रहेका महासङ्घका सङ्गठनहरूले विविध कार्यक्रम आयोजना गरी मनाएका छन् ।