काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणको सिलसिलामा आज बेइजिङ पुगेका छन् ।
उनलाई चीनका लागि नेपालकी कार्यवाहक राजदूत रोशन खनाल र चिनियाँ विदेश मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका छन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा मन्त्री खनाल चीन भ्रमणमा गएका हुन् । उनी आजैदेखि भेटघाट तथा अन्तक्र्रिया लगायतका कार्यक्रममा सहभागी हुनेछन् । उनको आज पहिलो कार्यक्रम नेपाली समुदायसँग अन्तक्र्रिया छ ।
भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यी र चीन सरकारका उच्चस्तरीय पदाधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने जनाइएको छ ।

भ्रमणका दौरान बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजित लगानी सम्मेलनमा मन्त्री खनालले सहभागिता जनाउनेछन् । सम्मेलनमार्फत नेपालमा वैदेशिक लगानी प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ । सो अवसरमा उनले चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्दै नेपालमा लगानीका सम्भावना र अवसरबारे जानकारी गराउनेछन् ।

