काठमाडौं, ५ भदौ । नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १८ हजार २६३ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
योसँगै गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ९ लाख ३० हजार ४९ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा प्रहरीले यो अभियान सुरु गरेको हो ।
नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔं’ भन्ने नारासहित प्रहरीले ‘तपाईंको मास्क खै ?’ लगायत विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिरहेको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ७१ जनालाई ७ हजार १०० रुपैयाँ जरीवाना गरिएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने २ हजार ९३२ जनालाई रोकी सम्झाई बुझाई छाडिएको प्रहरीको भनाइ छ ।
साथै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको १ सय २८ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ११ हजार ९ सय ३७ जनालाई सचेत गराइएको छ ।
FACEBOOK COMMENTS