काठमाडौं । नेपाल जेनजी फ्रन्टले काठमाडौंको माइतीघरमा प्रदर्शनका लागि पुगेकी संयोजक रक्षा बममाथि दुव्र्यवहार गरेको घटनामा आपत्ति जनाएको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै फ्रन्टले आफ्ना संयोजक बममाथि दुव्र्यवहार गरेको भन्दै आपत्ति जनाएको हो।
‘बिहीबार शान्तिपूर्ण प्रदर्शनको क्रममा यस फ्रन्टकी संयोजक रक्षा बममाथि भएको दुव्र्यवहारको हामी घोर भत्र्सना गर्दछौं,’ फ्रन्टले भनेको छ, ‘नेपालको संविधानले प्रत्येक नागरिकलाई बिना हातहतियार शान्तिपूर्वक भेला हुने तथा विचार र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरेको छ।
संवैधानिक अधिकारको प्रयोग गर्दै सत्य र न्यायको आवाज उठाइरहेकी एक आन्दोलनकारीमाथि यसप्रकारको आक्रमण एक सभ्य लोकतान्त्रिक समाजमा कदापि सह्य हुन सक्दैन।’
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँच बुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी अगुवाहरू ६ दिनदेखि माइतीघरमा प्रदर्शनरत छन्।
त्यही प्रदर्शनको क्रममा रक्षा बमविरूद्ध आन्दोलनका घाइते अगुवाहरूले नाराबाजी गरेका थिए। फ्रन्टले आन्दोलनकारीमाथि दुव्र्यवहार गर्दा आन्दोलन थप कमजोर बनाउने बताएको छ।



FACEBOOK COMMENTS