लोकतन्त्र र गणतन्त्रको आवरणमा मौलाएको घुसखोरी, भ्रष्टाचार, बेथिति र जनतालाई दास सम्झिने राजनीतिक दलका नेताहरूको प्रवृत्तिविरुद्ध जेनजी समूहले आन्दोलन छेडेको छ ।
विकल्पबिना निष्क्रिय पारिएका सामाजिक सञ्जालको पुन: सुचारु, भ्रष्टाचार अन्त्य र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामालाई मुख्य केन्द्रविन्दु बनाएर हिजो सोमबारदेखि सुरू गरेको आन्दोलनले दुई दिनमै सरकारलाई घुँडा टेकाउन सफल भयो भने त्यसका लागि कम्तिमा २० जना निर्दोष जेन्जीले आफ्नो रगत बगाउनुपरेको छ । यो दु:खद कुरा हो ।
आन्दोलन सुरू गरिएकै दिन प्रहरीले अत्यधिक दमन गर्दा ती युवायुवतीले अकालमै ज्यान गुमाउनु पर्यो । फलस्वरूप आज प्रधानमन्त्रीलाई राजीनामा गराउन उक्त समूह सफल भएको छ । योसँगै अब देश नयाँ कोर्षबाट अघि बढ्ने निश्चित भएको छ । तर, कुन मोडालिटीमा कसरी अघि बढ्छ त्यो भने यकिन भइसकेको छैन । किनकी पछिल्लो परिवर्तन (क्रान्ति) नेपालका लागि अनपेक्षित र अकस्मातको हो । जुन मोडालिटीमा अघि बढे पनि जेनजीको प्रतिनिधित्व र ‘एडभाइजरी रोल’बिना अबको कोर्ष अगाडि बढ्न भने नसक्ने निश्चित भएको छ ।
वर्तमान परिस्थितिलाई साम्य पार्दै नयाँ कोर्षको मध्यस्तता गर्ने जिम्मेवारी करिब–करिब नेपाली सेनालायत सुरक्षा निकायहरूको काँधमा पुगेको छ ।
आन्दोलन एक प्रकारले सफल भइसक्दा पनि जेनजीहरूले सडक छाडेका छैनन् । त्यति मात्र होइन लामो समय तथा करोडौँ र खरबौँ लगानीमा निर्माण गरिएका सार्वजनिक सम्पत्तिहरूमा क्षति पुर्याउन समेत छाडेका छैनन् । राजनीतिक नेतृत्वको खराब आचरण, भड्किलो जीवनशैली र अस्वाभाविक रबाफको आक्रोशको बदलामा मुलुकका कयौँ सार्वजनिक सम्पत्ति क्षति मात्रै होइन ध्वस्त बनाइएका छन् । र, त्यो क्रम अझै जारी छ ।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, विशेष अदालत, प्रधानमन्त्री निवास (बालुवाटार), संसद भवन (बीआईसीसी), शीतल निवासलगायत विभिन्न प्रशासनिक भवनहरू तोडफोड मात्र होइन ध्वस्त पारिएका छन् । जहाँ बसेर भोलि आउने शासकले समेत साशन गर्नुपर्ने थियो । त्यसैगरी कतिपय व्यावसायिक भवनसमेत जलाइएको छ । यसले भोलिका दिनमा उद्योग व्यवसाय प्रवर्द्धन गर्न र मुलुकको ढुकुटी बढाउन समस्या पर्न सक्छ ।
विभिन्न राजनीतिक पार्टीका कार्यालय भवन पनि सार्वजनिक सम्पत्ति हुन् । भोलि तीनलाइसमेत दलको पहुँचबाट टाढा राखेर राज्यको सम्पत्तिका रूपमा प्रयोग गर्न सकिने थुप्रै आधारहरू थिए, जो सबै ध्वस्त पारिएका छन् । सार्वजनिक होस् वा व्यक्तिको नै किन नहोस् सम्पत्ति ध्वस्त पारिँदा मुलुकमा ठूलो आर्थिक क्षति हुन पुगेको छ । जुन कुरालाई पुरानै अवस्थामा फर्काउन ठूलो धनराशी खर्च गर्नुपर्ने परिस्थिति खडा भएको छ ।
स्रोत र साधनको बलियो आधार नभएको तथा भएकाको पनि आवश्यक प्रवर्द्धन गर्न नसकिएको वर्तमान परिप्रेक्ष्यमा यो घटनाबाट आर्थिकरूपमा देश निक्कै पछाडि धकेलिएको छ । माओवादीको तत्कालीन द्वन्द्वका बेला १० वर्षमा पनि नभएको प्रकारको क्षति यो ‘रिभोलुसन’बाट दुई दिनमै भएको छ ।
त्यसकारण अब जेन्जीहरू विध्वंश छोडेर वार्ता र सम्वादमा जोडिनु पर्दछ, ढिलो गर्न हुँदैन । प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरिक्दा पनि तोडफोड र आगजनीका घटना नरोकिनु देश र जनताका लागि ठूलो घाटाको विषय हो । यो सत्यलाई बुझेर प्रिय जेनजी भाइबहिनीहरू अब वार्ता र सम्वादमा फर्किनुहोस् ल । त्यसो गर्नुभएन भने तपाइँहरूमाथि नै पुन: आक्रोश सृजना हुने खतरा बढ्छ । सोमबार ज्यान गुमाएका ती निर्दोष भाइबहिनीले बगाएको रगतलाई सम्झेर पनि अब तपाइँहरू रोकिनुपर्छ ।
अन्तिममा, प्राय: नेतृत्वविहीन ढङ्गबाट स्वत:स्फूर्त अगाडि बढेको तपाइँहरूको आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्याउनका लागि अवश्य पनि नेताको आवश्यकता पर्छ । छिटो भन्दा छिटो नेतृत्व प्रदान गर्ने बाटोतर्फ पनि अघि बढ्नुहोला । अबचाहिँ मुलुकले थप क्षति व्यहोर्ने बाटोमा हामी कोही पनि लाग्न हुँदैन ।
तपाइँ युवाहरू राष्ट्रको मेरुदण्ड हो, तर अझै आन्दोलनलाई निरन्तरता दिनु भनेको तपाइँहरूको क्षमतामा बाधा पुर्याउनु हो । अब सृजनशीलता, संवाद र नवीन सोचमार्फत अघि बढ्नुपर्छ । देशमा परिवर्तन सम्भव छ । अब जेन्जी आन्दोलन तत्काल रोकिनु र संस्थागत संवादमार्फत अघि बढ्नु अबको अपरिहार्यता हो ।
प्रधानमन्त्रीको राजीनामासँगै सुरक्षा निकायको सक्रियता बढ्यो, सुरक्षा प्रमुखहरूको यस्तो आयो विज्ञप्ति
FACEBOOK COMMENTS