काठमाडौं । जेन जी आन्दोलनको जगमा अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई जेन जीहरूले नै फिर्ता बोलाउन माग गरेका छन् ।
कार्की नेतृत्वको सरकारले जेन जी आन्दोलनको अपेक्षा पूरा गर्न नसकेको भन्दै जेन जीका २३ समूहले सरकारलाई फिर्ता बोलाउन माग गर्दै जेन जी २३ समूहले राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र दिएका छन् ।
उनीहरूले नयाँ सरकार गठनमा मध्यस्थता गरिदिन पनि राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।
भदौ २३ र २४ गते भएको जेन जी विद्रोहको जगमा बनेको ससरकारबाट ठूला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाही, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन गर्नुपर्नेमा त्यसो नभएको जेन जी समूहहरूको तर्क छ ।
यस्तै, आन्दोलनमा दमन गर्नेमाथि कारबाही, घाइतेको उपचार र शहीद परिवारलाई उचित क्षतिपूर्ति दिनेबारे न्यूनतम अपेक्षासमेत पूरा नभएको भन्दै कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाएर आफूहरूको नेतृत्वमा सरकार बनाउन माग गरिएको छ ।

‘विद्रोहको जगमा बनेको सरकारले विद्रोहीको न्यूनतम अपेक्षा पूरा गर्नुको सट्टा सबै अपेक्षालाई बेवास्ता गर्दै केवल एक थान चुनाव मात्र गराउने गरी सरकार दिशाहीन अवस्थामा रहेको पाइयो,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यो विद्रोह र शहादत केवल अर्ली इलेक्सनको लागि भएको थिएन, तसर्थ हामी उक्त विद्रोहमा संलग्न २३ जेनजी अलायन्स, घाइते र शहीद परिवार यो सरकारले तत्काल विद्रोही पक्षको माग सम्बोधन गर्नुपर्दछ ।’

ज्ञापनपत्रमा अगाडि भनिएको छ, ‘अन्यथा यदि सरकारले विद्रोही पक्षको माग पूरा गर्न सक्दैन भने यो सरकारलाई फिर्ता बोलाई हाम्रो नेतृत्वमा नयाँ सरकार गठनका लागि मध्यस्थताको भूमिका निर्वाह गर्न सम्माननीयज्यूसमक्ष निवेदन गर्दछौं ।’

अन्यथा वर्तमान सरकारविरुद्ध अर्को शान्तिपूर्ण आन्दोलन तथा दबाब कार्यक्रम गर्ने चेतावनी जेन जी समूहहरूको छ ।


FACEBOOK COMMENTS