काठमाडौं । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीका अनुसार १५ प्रतिशत बोनस सेयरबापत ७ करोड ४० लाख ८७ हजार रुपैयाँ तथा १० प्रतिशत नगद लाभांश बापत ४ करोड ९३ लाख ९१ हजार रुपैयाँ वितरण हुनेछ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज १४ गते १९औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालयमा बिहान साढे ८ बजे सुरु हुनेछ।
साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने प्रस्तावमाथि छलफल गरी निर्णय गर्नेछ। त्यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।

सञ्चालक समितिको प्रस्ताव साधारणसभाबाट पारित भएपछि कम्पनीका सेयरधनीले प्रस्तावित बोनस तथा नगद लाभांश प्राप्त गर्नेछन्।