काठमाडौं । पुष्प व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यसाथ फ्लोरिकल्चर एसोसिएशन नेपालको आयोजनामा ललितपुरको जावालाखेलमा ‘१८औं गोदावरी पुष्प प्रदर्शनी, २०८२’ सञ्चालन भइरहेको छ । असोज २९ गतेदेखि जारी प्रदर्शनी कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ ।
एसोसिएशनका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार ४० हजारले अवलोकन गर्ने आकलन गरिएको प्रदर्शनीमा डेढ करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य राखिएको छ ।
प्रदर्शनीमा दैनिक अवोलकनकर्ताको भीडले उत्साह थपेको बताउँदै अध्यक्ष श्रेष्ठले भने, ‘हामीले ४० हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा राखेका छौं । त्यहीअनुसार नै अवलोकनकर्ताहरू उपस्थित भइरहनुभएको छ । यसले पुष्प व्यवसायीलाई थप ऊर्जा मिलेको छ ।’
प्रदर्शनीमा ८० वटा स्टल राखिएका छन्, जहाँ पाँच सयभन्दा बढी प्रजातिका फूलहरू र ५० भन्दा बढी गोदावरी फूलका प्रजातिहरू उपलब्ध छन् । साथै, पुष्प व्यवसायसम्बन्धी विभिन्न कृषि उपकरण, मल, औषधि र फूल खेतीसँग सम्बन्धित सामग्रीहरू पनि बिक्रीका लागि राखिएका छन् ।
अध्यक्ष श्रेष्ठले भने, ‘हामीले यस प्रदर्शनीलाई एउटा स्वस्थ प्रतिस्पर्धाको रूपमा आयोजना गरेका हौं, जसले व्यवसायीहरूबीचको प्रदर्शनीको प्रतिस्पर्धालाई प्रोत्साहित गर्ने काम गर्नेछ ।’

उनले थपे, ‘तिहारलाई ध्यानमा राख्दै फूलको बिक्रीका साथसाथै हामीले व्यवसायीहरूलाई पुरस्कृत र सम्मान पनि गर्नेछौं ।’

प्रदर्शनीमा प्लान्ट क्लिनिक नामक स्टल पनि राखिएको छ, जहाँ पुष्प व्यवसायी र अवलोकनकर्ताले फूलका बोटबिरुवाको समस्या समाधानका लागि निःशुल्क परामर्श प्राप्त गर्न सक्छन् ।

अध्यक्ष श्रेष्ठले भने, ‘हामीले आशा गरेका छौं कि यो प्रदर्शनीले केवल फूल व्यवसायलाई प्रवर्द्धन मात्र गर्ने छैन, नेपालमा पुष्प उद्योगको उज्ज्वल भविष्यको सङ्केत पनि यसले गरिरहेको छ ।’

एसोसिएशनले अहिले नेपालभरि ५२ जिल्लामा दुई सय ७० हेक्टर जमिनमा पुष्प व्यवसाय गर्दै आएको छ । पछिल्लो समय पुष्प व्यवसायमा आकर्षण बढ्दै जाँदा नेपाल फूलमा आत्मनिर्भर बन्ने बाटोमा रहेको अध्यक्ष श्रेष्ठले बताए ।

हेर्नुहोस् भिडिओ–
यी सामग्रीहरू पनि पढ्नुहोस्–
पुष्प व्यवसायको भविष्य उज्ज्वल, सरकारी सहयोगको आवश्यकता (भिडिओ)
पाँच सय थरीका फूलले सुसज्जित ‘गोदावरी पुष्प प्रदर्शनी’ (फोटो फिचर)
FACEBOOK COMMENTS