काठमाडौं । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले राजसंस्थासहित सर्वपक्षीय भेलाबाट अहिलेको समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेता श्रेष्ठले लोकतन्त्रको नाममा राजनीतिक दललाई एनजिओद्वारा विस्थापित गर्न प्रपञ्च हुँदै गरेको बताउदै राजसंस्थालगायत परम्परागत शक्ति, राजनीतिक दल, जेन–जी आन्दोलनका फरक मत राख्ने सबै शक्तिहरूलाई समेटेर सर्वपक्षीय संवादको आवश्यकता रहेको बताएका हुन् ।
उनले भने– ’हामीले पाठ सिकेर राजनीतिक दलहरूले निषेधको राजनीति त्यागेर सहकार्य गरेर अघि बढ्नुपर्छ । राजसंस्थालगायत परम्परागत शक्ति, राजनीतिक दल, जेन–जी आन्दोलनका फरक मत राख्ने सबै शक्तिहरूलाई समेटेर सर्वपक्षीय संवादको आवश्यकता छ ।’
नेता श्रेष्ठले सर्वपक्षीय भेला गरेर समाधान निकाल्न ढिला गर्न नहुने बताउदै यसका लागि आफुले सक्रिय भूमिका खेल्ने बताएका छन् । आफु माओवादीसँगको शान्ति सम्झौताको समेत हस्ताक्षरकर्ता भएको बताउदै श्रेष्ठले सबै दललाई एक ठाउमा आउन आग्रह समेत गरेका छन् ।
उनले हाल काँग्रेसमा जारी महाधिवेशनको विवादका बिचमा चैतभित्र नियमित महाधिवेशन गर्न प्रस्ताव समेत गरेका छन् । उनले मंसिरमा नियमित महाधिवेशन गर्न सम्भव नहुने बताउदै विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गर्ने महाधिवेसन प्रतिनिधिको पनि सम्मान गर्दै समाधान खोजिनुपर्ने बताए ।
FACEBOOK COMMENTS