काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निष्काशन गरेको ‘निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९’ को बाँडफाँड सम्पन्न भएको छ ।
एनआइएमबि एस क्यापिटल लिमिटेड को निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहेको उक्त बाँडफाँड कार्यक्रम काठमाडौंको लाजिम्पाटस्थित क्यापिटल कार्यालय प्राङ्गणमा सम्पन्न भएकाे हाे ।
५ अर्ब बराबरको यस हरित उर्जा ऋणपत्रका लागि ३ दशमलव ८ गुणा भन्दा बढी आवेदन प्राप्त भएको छ।
कुल निष्काशित रकमको ६० प्रतिशत संस्थागत लगानीकर्ताका लागि र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको थियो । सार्वजनिक निष्काशन २०८२ साल जेठ १८ गतेदेखि २५ गतेसम्म खुला गरिएको थियो ।
एनआइएमबि एस क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले यस ऐतिहासिक बोन्ड निष्काशनमा भूमिका निभाउन पाएकोमा गर्व व्यक्त गर्दै भने, “नेपालमा पहिलो पटक सार्वजनिक रूपमा जारी भएको हरित उर्जा ऋणपत्र सफलतापूर्वक निष्काशन गर्नु हाम्रो लागि अत्यन्त गौरवको विषय हो। यसले नवीनता र दिगोपनप्रति हाम्रो प्रतिबद्धता झल्काउँछ। भविष्यमा पनि यस्ता महत्त्वपूर्ण परियोजनाहरूसँग अघि बढ्ने विश्वास दिलाउँछौं।”
७ वर्ष अवधिको यो ऋणपत्रले वार्षिक ६ प्रतिशत व्याज दिनेछ। यो नेपालमा पहिलो पटक सार्वजनिक रूपमा जारी गरिएको हरित उर्जा ऋणपत्र हो, जसको उद्देश्य वातावरणमैत्री परियोजनाहरूमा लगानी प्रवाह गर्नु हो।
यस बाँडफाँडको सफल आयोजनाका अवसरमा, नेपाल सरकार, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ, साथै विदेशी दातृ संस्था ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (GGGI) र कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी (KOICA), साथै सञ्चारकर्मी र सम्पूर्ण सरोकारवाला निकायहरूलाई धन्यवाद ज्ञापन गरिएको छ।
FACEBOOK COMMENTS