काठमाडौँ । गृह एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले असोज ५ गते आईतबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् ।
सोही अवसरमा भाद्र २३ र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा दिवंगत सहिदहरुप्रति उच्च सम्मान व्यक्त गर्दै घाईते नागरिक तथा सशस्त्र प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेका थिए ।
मन्त्री अर्यालले सशस्त्र प्रहरी बल नेपालले आफ्नो स्थापना कालदेखि नै मुलुकमा देखा परेका विभिन्न अप्ठ्यारा परिस्थितीहरुमा आईपरेका चुनौतीहरुलाई परास्त गरी राज्य र नागरिकको सेवा र सुरक्षामा
समर्पित सुरक्षा निकायको रुपमा स्थापित गराएको चर्चा गर्दै आगामी निर्वाचनमा पूर्ण तयारी र योजनाका साथ परिचालित भई कार्य सम्पन्न गर्न सफल हुने समेत बताए ।
उनले नेपाली जनताको जीवन रक्षा गर्नुभन्दा ठूलो कर्तव्य अरु केही हुन सक्दैन भन्ने कुरा सशस्त्र प्रहरी बल नेपाल तथा अन्य सुरक्षा निकायले समेत राम्रोसँग बुझेका छन् भन्ने कुरामा विश्वास व्यक्त गर्दै आगमी दिनमा समेत कार्यक्षेत्रमा थप हौसलाकासाथ परिचालित हुनुपर्नेमा जोड दिए ।
सशस्त्र प्रहरी बल नेपालले प्राथमिकिकरण गरेका कार्यादेश अन्तर्गत बोर्डर सेक्युरिटी, इन्टरनल सेक्युरिटी, रेभेन्यु सपोर्ट एण्ड डिजास्टर म्यानेजमेन्टमा केन्द्रित भई सीमा स्तम्भ मर्मत तथा सम्भार, सीमापार
अपराध नियन्त्रण, अवैध चोरीपैठारी, मानव वेचविखन, हातहतियार तथा लागूऔषधको ओसारपसार नियन्त्रणमा डेडिकेटेड सुरक्षा फौजको रुपमा परिचालन हुँदै राजश्व चुहावट नियन्त्रणमा समेत अहम भूमिका
निर्वाह गरेको र राजश्व चुहावट नियन्त्रण तथा संकलनको लागि सम्बन्धित निकायसँग समन्वयात्मक रुपमा साँझा योजनासहित ईमान्दार र प्रतिवद्ध भई कार्य गर्नुपर्ने समेत उनले बताए ।
कार्यक्रम देशभरका इकाईहरुमा ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा प्रत्यक्ष प्रसारण गरी हेर्ने र सुन्ने ब्यवस्था मिलाईएको थियो ।
कार्यक्रममा गृहसचिव गोकर्णमणी दुवाडी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृहमन्त्रालयका पदाधिकारी लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।
FACEBOOK COMMENTS