काठमाडौं । पाँचतारे होटेल हायातले आफ्ना सम्पूर्ण श्रमिकलाई हटाएको छ । हायात रिजेन्सी होटेलका महाप्रबन्धक आशिष कुमारले सूचना जारी गर्दै आगामी मंसिर २२ गतेदेखि लागू हुने गरी सम्पूर्ण कर्मचारी कटौती गरेको जानकारी दिएका हुन् ।
उनले भदौ २४ गते होटेलमा भएको आगजनी र लुटपाटपछि मर्मत गर्न करोडौं खर्च हुने र होटेलको आर्थिक अवस्था नाजुक बनेको तथा भदौ २४ मा होटेलको चौथो तलाबाट हाम फालेर घाइते भएका विदेशी पर्यटकको मृत्यु भएपछि अन्तर्राष्ट्रियस्तरमा होटेलको ख्यातिमा नकारात्मक प्रभाव परेको समेत बताएका छन् ।
हायात रिजेन्सी होटेलको श्रमिक कटौतीसम्बन्धी सूचना—
उपरोक्त सम्वन्धमा मिति २०८२ भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा यस होटेलमा आपराधिक समुह प्रवेश गरी होटेलमा तोडफोड, लुटपाट र आगलागिजन्य क्रियाकलापहरु गरेको कारण सोही दिनबाट यस होटेल पुर्ण रुपमा बन्द रहेको व्यहोरा सम्पुर्ण श्रमिकहरुलाई अवगत नै छ । होटेलमा भएको उक्त आगलागी र तोडफोडका कारण होटेल क्षेतिग्रस्त भई पुर्ण रूपले मर्मत सम्भार नगरी संचालनमा ल्याउन सक्ने अवस्था समेत नरहेकाले होटेलको मर्मत सम्भार नहुँदासम्म होटेल पुर्ण रुपले बन्द रहने व्यहोरा सम्पूर्ण श्रमिकहरूलाई पुनः जानकारी गराउन चाहन्छौं। भाद्र २४ को घटनाका क्रममा होटेलमा भएका एकजना विदेशी पाहुनाले आगलागीको कारण बाहिर आउन नसकि ज्यान बचाउन होटेलको ४ तलाबाट हामफाल्दा घाईते भई उपचारको क्रममा ज्यान गएको तथा होटेलमा आवास सुविधा लिएका अन्य विदेशी अतिथिहरूको लगेज तथा सरसामानहरू समेत आपराधीक समुहले लुटपाट तथा आगो लगाएकोमा सो घटनाले अन्तराष्ट्रिय जगतमानै होटेलको ख्यातीमा व्यापक नकारात्मक प्रभाव पारेको व्यहोरा सबैलाई अवगत नै छ ।
भिड १९ का कारण लामो समय सम्म होटेल तथा पर्यटन क्षेत्र बन्द भई होटेललाई निकै नै ठुलो आर्थिक क्षति भएको र सो अवस्थाबाट हालसालै मात्र केहि सुधार आइरहेकोमा मिति २०८२ भाद्र २४ को घटनाको कारण पुनः होटेललाई ठूलो आर्थिक क्षति हुन पुगेको छ । यस परिस्थितिमा होटेलको मर्मत सम्भारका लागि करोडौँ रकम लाग्ने र मर्मत अवधी भर होटेलको कुनै आम्दानीको स्रोत समेत नहुने भएकाले प्रतिष्ठानलाई विगतको भन्दा ठूलो आर्थिक चुनौति समेत आएको छ ।

यस परिस्थितिमा श्रमिकको व्यवस्थापन सम्बन्धी विकल्पहरुको सम्बन्धमा प्रतिष्ठानमा क्रियाशिल ट्रेड युनियनहरु सँग छलफल समेत गर्दा कुनै निष्कर्शमा पुग्न सकेको अवस्था छैन। होटेलको मर्मत सम्भारको कार्य प्रारम्भ भइसकेको र सोका लागि आर्थिक स्रोत जुटाई खर्च व्यबस्थापन गर्नु पर्ने एवं यस अवधीमा संचालनमा नरहेको होटेलमा श्रमिकहरुलाई काममा लगाउन समेत होटेल असमर्थ रहेको हुँदा होटेलमा कार्यरत सम्पुर्ण श्रमिकहरुलाई कटौती गर्नपर्ने भएकाले यो सूचना प्रकाशित भएको मितिले ३० दिन अर्थात मिति २०८२।०८।२२ गते देखी लागू हुने गरी श्रम ऐन २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण (१३३) श्रमिक कटौती गर्न यो सूचना जारी गरीएको छ ।

FACEBOOK COMMENTS