काठमाडौं । आईएमई ग्रुपका को–फाउण्डर हेमराज ढकालले आईएमईपे र खल्ती डिजिटल वालेटबीच सफल मर्जर गरेर नेपालको फिनटेक क्षेत्रमा ठूलो सपनाको सुरूवात गरेको बताएका छन् ।
आईएमईपे र खल्तीबीच एकीकृत कारोबार शुभारम्भ गर्न दरबारमार्गस्थित होटेल याक एण्ड यतीमा आज आयोजित भव्य समारोहलाई सम्बोधन गर्दै उनले यी दुई संस्थाबीच मर्जर मात्रै नभइ ठूलो सपनाको सुरूवात भएको बताएका हुन् ।
‘आज हामीले नयाँ अध्याय सुरू गरेका छौँ । यो नयाँ अध्याय आफैमा मर्जर मात्रै होइन, ठूलो सपनाको सुरूवात पनि हो । नेपालमा डिजिटल रुपान्तरणको कथा पनि हो,’ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका ढकालले भने, ‘आज सुरूवात हो र नेपालको अर्थतन्त्रलाई गाउँगाउँसम्म पुर्याउनका लागि नेपालका कुनाकाप्चामा फाइनान्सियल इन्क्लुजनलाई पुर्याउनका लागि सुरू गरिएको यो अध्याय हो । दुईवटा कम्पनीले सक्सेसफुल मर्जर गरेर ऐतिहासिक दिनको रचना गरेका छन् ।’
यस्तै, उनले आईएमईपे र खल्तीबीचको मर्जरलाई ‘सक्सेसफुल मर्जर’का रूपमा अगाडि बढाउँदै मर्जर भइसकेपछिको संस्थालाई नेक्स्ट लेभलमा पुर्याउने विश्वाससमेत व्यक्त गरे । त्यसका लागि नेपाल राष्ट्र बैंकको भूमिका महत्त्वपूर्ण हुने पनि उनले बताएका छन् ।
‘मर्ज भइसकेपछिको संस्थालाई नेक्स्ट लेभलमा लैजानका लागि हाम्रो टीमसँग डेडिकेसन छ । त्यसलाई हाम्रो अभिभावक आदरणीय गभर्नर साहेब । यो संस्थालाई नेक्स्ट लेभलमा लैजानका लागि हजुरहरू (नेपाल राष्ट्र बैंक) गाइडेन्स र सहयोग त्यत्तिकै ठूलो भूमिका हुन्छ,’ ढकालले भने, ‘हामीले नेपालमा डिजिटल रुपान्तरणको कुरा गरेका छौँ । नेपालको अर्थतन्त्रलाई डिजिटल रुपमा ट्रान्सफर्मेशन गर्ने कुरा गरेका छौँ । यसो भयो भने मात्रै ट्रान्सपरेन्सीको कुरा आउँछ । यसका लागि राष्ट्र बैंकको सबैभन्दा ठूलो भूमिका हुन्छ ।’
राष्ट्र बैंकले नयाँ–नयाँ नियम ल्याएर फिनटेक उद्योगको प्रवर्द्धनमा टेवा पुर्याउनुपर्ने उनको भनाइ थियो ।
हेर्नुहोस् भिडिओ–
चन्द्र ढकालले सम्झिए मेगासँग ‘मिटिङ बुक’ गरेर जनता बैंकसँग मर्जर टुङ्ग्याएको घटना (भिडिओ)
FACEBOOK COMMENTS