काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियास्थित लेक टाहो आसपासको क्षेत्रमा हिमपहिरो जाँदा १० स्की खेलाडी बेपत्ता भएका छन् । घटनास्थलमै फसेका ६ जना उद्धारको प्रतीक्षामा रहेको बताइएको छ ।
नेभाडा काउन्टी शेरिफ कार्यालयका अनुसार हिमपहिरो ट्रकी सहर नजिकैको क्यासल पिक क्षेत्रमा चार जना मार्गदर्शक र १२ जना सहभागी रहेका थिए ।
शेरिफ कार्यालयले जनाएअनुसार कम्तीमा ६ जना हिमपहिरोबाट बाँचेका छन् र उनीहरूलाई सुरक्षित स्थानमै बस्न निर्देशन दिइएको छ । बाँकी १० जनाको अवस्था अज्ञात रहेको छ । नजिकैका दुई केन्द्रबाट दक्ष उद्धार टोली परिचालन गरिएको छ ।
हिउँमा सहजै चल्न सक्ने विशेष सवारी साधनसमेत पठाइएको अधिकारीहरूले बताएका छन् । बोरियल माउन्टेन स्की रिसोर्ट र एल्डर क्रिक साहसिक केन्द्रका विज्ञ टोली पनि घटनास्थल पुग्ने प्रयासमा रहेको बताइएको छ । हाल ४६ जना आपत्कालीन उद्धारकर्मी परिचालन गरिएका छन् ।
सिएरा एभालेन्च केन्द्रले मंगलबार र बुधबार बिहानसम्म ठूलो हिमपहिरोको उच्च जोखिम रहेको चेतावनी दिएको छ । पछिल्लो २४ घण्टामा उक्त क्षेत्रमा ३० इन्चसम्म हिमपात भएको छ । तीव्र हावा र कम दृश्यताका कारण नजिकैको हिमक्रीडा केन्द्र बन्द गरिएको छ भने अन्तरराज्यीय मार्ग ८० र राजमार्ग ५० सहित केही सडकहरू पनि अवरुद्ध भएका छन् ।

FACEBOOK COMMENTS