नयाँदिल्ली । भारत र अमेरिकाले व्यापार, रक्षा, प्रविधि तथा ऊर्जा सुरक्षालगायतका क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् । दुवै देशले लामो समयदेखि छलफलमा रहेको द्विपक्षीय व्यापार सम्झौतालाई पनि चाँडै अन्तिम रूप दिने तयारी गरेका छन् ।
मुम्बईमा मङ्गलबार भारतीय विदेशमन्त्री एस जयशङ्कर र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
भेटका क्रममा रुबियोले भारत र अमेरिकाबीचको व्यापार सम्झौता अन्तिम चरणमा पुगेको बताएका थिए । उनका अनुसार सम्झौता टुङ्ग्याउन केही प्राविधिक विषयमा मात्रै सहमति जुटाउन बाँकी छ । उनले सम्झौताका सबै विवरणमा सहमति भएपछि मात्र औपचारिक घोषणा गर्नुपर्नेमा जोड दिएका छन् ।
भारत र अमेरिकाबीच राष्ट्रिय हितका प्रमुख विषयमा राम्रो तालमेल रहेको उल्लेख गर्दै रुबियोले कूटनीतिक तथा आर्थिक सहकार्य थप विस्तार गर्नुपर्ने धारणा राखेका छन् । उनले भारतको आर्थिक केन्द्रका रूपमा रहेको मुम्बईबाट व्यापार र लगानीका नयाँ अवसर सिर्जना गर्न सकिने पनि बताएका छन् ।
भारतको औपचारिक भ्रमणमा रहेका रुबियोले गुजरातको जामनगरमा उन्नत ऊर्जा सहकार्यका विषयमा समेत छलफल गर्ने कार्यक्रम छ । उनको भ्रमणले भारत र अमेरिकाबीचको रणनीतिक साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
