काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजयादशमीमा टीका तथा जमरा ग्रहण गरेपछि लिङ्गे पिङ खेल्ने परम्पराले निरन्तरता पाएको छ । दसैँको उल्लाससँगै देशका विभिन्न स्थानमा बालबालिकादेखि वृद्धवृद्धासम्म पिङ खेलेर रमाइरहेका छन् ।
‘दसैँमा एक पटक भए पनि धर्ती छोड्नुपर्छ’ भन्ने जनविश्वासअनुसार टीका लगाएपछि पिङ खेल्ने चलन नेपाली समाजमा लामो समयदेखि रहँदै आएको छ । यही परम्परालाई निरन्तरता दिँदै गाउँघर तथा सार्वजनिक स्थलमा बनाइएका पिङमा सर्वसाधारणको आकर्षण देखिएको छ ।
विशेषगरी गाउँघरमा बाँसका लिङ्गा गाडेर बनाइने पिङ दसैँको विशेष आकर्षण मानिन्छ । टीका तथा जमरा ग्रहण गरेपछि साथीभाइ र परिवारका सदस्यसँगै पिङ खेल्ने तथा रमाइलो गर्ने चलनले पर्वको रौनक थप्ने गरेको छ ।
सहरी क्षेत्रमा आधुनिक जीवनशैलीका कारण परम्परागत पिङ निर्माण गर्ने चलन केही घट्दै गए पनि विभिन्न स्थानमा दसैँलाई लक्षित गरी पिङ बनाउने गरिएको छ ।
लिङ्गे पिङ मनोरञ्जनको साधन मात्र नभई सामाजिक सद्भाव, आपसी मेलमिलाप र सांस्कृतिक पहिचानसँग पनि जोडिएको छ । दसैँको अवसरमा पिङ खेल्ने परम्पराले नयाँ पुस्तालाई नेपाली संस्कृति र मौलिक परम्परासँग जोड्नसमेत मद्दत गर्दै आएको छ ।
