काठमाडौं । एसियन गेम्स महिला छनोटतर्फ नेपालले समूह चरणको दोस्रो खेलमा इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ ।
इन्डोनेसियालाई पराजित गर्दै नेपाल समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ ।
मलेसियाको वायुमास ओभलमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनाएको थियो।
इन्डोनेसियाले दिएको ११४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । नेपालको लागि कप्तान इन्दु बर्माले सर्वाधिक ४२ रनको अविजित पारी खेलिन् । उनले ४३ बलमा ५ चौका प्रहार गरिन् ।
चौथो विकेटको लागि इन्दुले सोनी पाख्रिनसँग ४५ रनको साझेदारी बनाउँदै नेपालको मध्यक्रम सम्हालेकी थिइन् । पाँचौं विकेटको लागि पनि इन्दु र कविता कुँवरले ३४ रनको सानो साझेदारी बनाएका थिए ।

सोनीले व्याक्तिगत २९ र कविता कुँवरले १४ रन बनाए । सीता राना मगर १३ रनमा अविजित रहिन् । इन्डोनेसियाको लागि बलिङतर्फ नि मेड पुत्री सुवान्डेवी र नि एरिआनीले २–२ विकेट लिए । दारा पारामिथा र साङ मेप्रियानीले १–१ विकेट लिए ।

त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको इन्डोनेसियाको लागि कप्तान नि पुतु आयु नान्दा साकारिनीले सर्वाधिक ५६ रनको अविजित पारी खेलिन् । उनले ६२ बलमा ३ चौका प्रहार गरिन् । नि लु देवीले २३ र नि मेड पुत्री सुवान्डेवीले १३ रन बनाइन् ।

नेपालको लागि मनिषा उपाध्यायले २ विकेट लिँदा रिया शर्माले १ विकेट लिइन् । नेपालले पहिलो खेलमा चीनलाई १९ रनले पराजित गरेको थियो । नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्ने छ । नेपालले सेमिफाइनल जितेमा एसियन गेम्समा छनोट हुनेछ ।
यदि नेपाल सेमिफाइनलमा पराजित भएमा तेस्रो स्थानको लागि खेल्नु पर्ने हुन्छ । प्रतियोगिताको तेस्रो भएको खण्डमा पनि नेपालले एसियन गेम्स खेल्ने छ । यस प्रतियोगिताको शीर्ष ३ टोलीले एसियन गेम्समा स्थान बनाउने छन् ।
एशियन गेम्स क्वालिफायर्समा इन्डोनेसियाले नेपाललाई दियो ११४ रनको लक्ष्य