काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले प्रधानमन्त्री बालेन्द्र साहले उद्योगी–व्यवसायीसँग प्रत्यक्ष संवाद सुरु गर्नु सकारात्मक कदम भएको बताएकी छन् ।
उनले दुईतिहाइ बहुमतको सरकार गठन भएको तीन महिना बितिसक्दा पनि अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको अवस्थामा प्रधानमन्त्रीले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल सुरु गर्नुले सकारात्मक सन्देश दिएको बताइन् ।
राणाका अनुसार प्रधानमन्त्रीसँगको भेटले निजी क्षेत्रको मनोबल बढाएको छ । “उद्योगी–व्यवसायीलाई प्रधानमन्त्रीले भेट्नु सकारात्मक कुरा हो । यसले निजी क्षेत्रलाई सरकारले आफ्ना कुरा सुन्ने र सहकार्य गर्न इच्छुक रहेको सन्देश दिएको छ,” उनले भनिन् ।
प्रधानमन्त्री बालेन्द्र साहले बुधबार सिंहदरबारमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूसँग छलफल गरेका थिए । त्यसको भोलिपल्ट बिहीबार नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसँग पनि भेटवार्ता गरेका छन् ।
सरकार गठन भएको तीन महिनासम्म निजी क्षेत्रसँग औपचारिक संवाद नहुँदा सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोणबारे अन्योल रहेको भए पनि पछिल्ला भेटघाटले त्यो अन्योल हटाउन थालेको राणाको भनाइ छ ।
उनले प्रधानमन्त्रीले निजी क्षेत्रका प्रतिनिधिहरूका समस्या, सुझाव र माग प्रत्यक्ष सुन्नुका साथै देखिएका अन्योल र आशंकाबारे स्पष्ट पार्ने प्रयास गरेको उल्लेख गर्दै यसबाट सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण बन्न थालेको बताइन् ।
राणाले अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद, सहकार्य र विश्वास अपरिहार्य रहेको भन्दै यस्ता भेटघाटलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरिन् ।