काठमाडौं । मेटलाइफ नेपालले लगातार दोस्रो वर्ष ग्रेट प्लेस टु वर्क प्रमाणपत्रबाट सम्मानित हुन सफल भएको छ ।
यो प्रतिष्ठित मान्यता पूर्ण रूपमा मेटलाइफका वर्तमान कर्मचारीहरूले आफ्नो कार्य अनुभवका आधारमा दिएको प्रत्यक्ष प्रतिक्रियामा आधारित छ।
यस वर्ष ८७ % कर्मचारीहरूले मेटलाइफ नेपाललाई काम गर्नका लागि उत्कृष्ट कार्यस्थल भएको बताएका छन् ।
ग्रेट प्लेस टु वर्क कार्यस्थलको संस्कृति, कर्मचारी अनुभव तथा संस्थागत नेतृत्वका उत्कृष्ट अभ्यासहरूको मूल्यांकन गर्ने विश्वव्यापी रूपमा मान्यता प्राप्त संस्था हो। यसले संस्थाको व्यावसायिक सफलता, कर्मचारीलाई दीर्घकालसम्म संस्थामा आबद्ध राख्ने क्षमता तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने कार्यसंस्कृतिको मूल्यांकन गर्छ ।
ग्रेट प्लेस टु वर्ककी विश्वव्यापी मान्यता सम्बन्धी उपाध्यक्ष सारा लेविस–कुलिनले लगातार दोस्रो पटक यो प्रमाणपत्र प्राप्त गर्नु मेटलाइफ नेपालले कर्मचारीमैत्री कार्यसंस्कृति निर्माणमा देखाएको प्रतिबद्धताको प्रमाण भएको बताइन्। उनका अनुसार यो मान्यता कर्मचारीहरूले आफ्नै कार्यस्थलबारे दिएको वास्तविक प्रतिक्रियाका आधारमा प्रदान गरिन्छ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले लगातार दोस्रो वर्ष प्राप्त भएको यो उपलब्धि कर्मचारीहरूको विश्वास, समर्पण र सहकार्यको प्रतिफल भएको बताए। उनले सम्मानित, समावेशी र सकारात्मक कार्य वातावरण निर्माण गर्दै कर्मचारीलाई आफ्नो पूर्ण क्षमता विकास गर्न प्रेरित गर्ने वातावरण सिर्जना गर्न कम्पनी निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरे।
कम्पनीका अनुसार पछिल्लो एक वर्षमा आधुनिक प्रविधियुक्त प्रमुख कार्यालय स्थापना गर्नुका साथै कर्मचारी केन्द्रित विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ। त्यसको परिणामस्वरूप ९१ प्रतिशत कर्मचारीले मेटलाइफ नेपाललाई उत्कृष्ट कार्यस्थल, ९६ प्रतिशतले सुरक्षित कार्यस्थल तथा ९४ प्रतिशत कर्मचारीले कम्पनीमा कार्यरत हुन र कम्पनीको सामाजिक योगदानप्रति गर्व महसुस गरेको प्रतिक्रिया दिएका छन्।
ग्रेट प्लेस टु वर्कको अध्ययनअनुसार यस्ता प्रमाणित संस्थामा कार्यरत कर्मचारीले उत्कृष्ट नेतृत्व पाउने सम्भावना ४।५ गुणा बढी हुने, कामप्रति उत्साहित हुने सम्भावना ९३ प्रतिशत बढी हुने तथा निष्पक्ष पारिश्रमिक, पदोन्नति र व्यावसायिक अवसर प्राप्त गर्ने सम्भावना अन्य संस्थाको तुलनामा उल्लेखनीय रूपमा उच्च रहने जनाएको छ।