पोखरा । मेटलाइफ नेपालले पोखरा महानगरपालिका–९, न्युरोडस्थित अव्यक्त कम्प्लेक्समा आफ्नो गण्डकी प्रदेश कार्यालय स्थापना गरेको छ ।
यस कार्यालयको सञ्चालनसँगै गण्डकी प्रदेशका ग्राहक, बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई अझ छिटो, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ ।
कार्यालय उद्घाटन समारोहमा नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भु प्रसाद मिश्र तथा मेटलाइफ नेपालका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
नयाँ प्रदेश कार्यालयले गण्डकी प्रदेशका ग्राहकहरूलाई बीमा सम्बन्धी परामर्श, पोलिसी सेवा, दाबी (क्लेम) सम्बन्धी सहजीकरण तथा ग्राहक सेवाजस्ता सुविधाहरू आफ्नै प्रदेशबाट सहज रूपमा उपलब्ध गराउनेछ ।
साथै, यसले बीमा अभिकर्ताहरु तथा व्यावसायिक साझेदारलाई आवश्यक सहयोग प्रदान गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ ।
यस अवसरमा मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, ‘गण्डकी प्रदेश मेहनती, सम्भावनायुक्त र उद्यमशील व्यक्ति, परिवार तथा व्यवसायहरूको प्रदेश हो, जसले नेपालको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
यहाँ प्रदेश कार्यालय स्थापना गर्नु भनेको यस क्षेत्रप्रति हाम्रो दीर्घकालीन प्रतिबद्धताको प्रतिबिम्ब हो । हामी विश्वास गर्छौं कि बीमा सेवा सबैका लागि सहज पहुँचयोग्य, आवश्यकताअनुसार उपयोगी र स्थानीय समुदायको अपेक्षाअनुरूप हुनुपर्छ । यस कार्यालयमार्फत हामी आफ्ना ग्राहकहरूसँग अझ नजिक हुँदै उनीहरूको आर्थिक भविष्यलाई थप सुरक्षित र आत्मविश्वासी बनाउन योगदान पुर्याउनेछौं ।’
गण्डकी प्रदेश कार्यालय सञ्चालनमा आएपछि स्थानीय समुदायसँगको सहकार्य अझ सुदृढ हुने, बीमा अभिकर्ताहरुको व्यावसायिक क्षमता अभिवृद्धिमा सहयोग पुग्ने तथा प्रदेशभरका व्यवसायिक संस्था र विभिन्न निकायसँगको सहकार्य विस्तार हुने विश्वास कम्पनीले लिएको छ ।
यस विस्तारसँगै मेटलाइफ नेपालले देशभरका व्यक्ति, परिवार तथा व्यवसायलाई भरपर्दो बीमा सुरक्षा र आर्थिक सुरक्षाका सेवा अझ सहज र पहुँचयोग्य बनाउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।