काठमाडौँ । विश्वचर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण आजदेखि सुरु हुँदै छ । क्रिकेटप्रेमीहरूका लागि यो एक ठूलो महोत्सव हो ।
उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्लुरु खेल्ने छन् । खेल नेपाली समयअनुसार साँझ पौने ८ बजेदेखि भारतको कोलकातास्थित इडेन गार्डेन्समा सुरु हुने छ ।
यससँगै खेलप्रेमीहरूबीच आ–आफ्ना मनपर्ने खेलाडीहरूको चर्चा पनि सुरु हुने छ ।
विगतमा झैँ यो संस्करणमा पनि टिमको कप्तानी गर्ने खेलाडीहरू विशेष चासोमा रहने छन् । चाहे ती अक्षर पटेल हुन् वा रजत पाटीदार, ऋषभ पन्त हुन् वा अजिङ्क्य रहाणे ।
तर, कसको रेकर्ड कत्तिको दमदार छ ? को पहिलो पटक कप्तानी गर्दै छ ? यो धेरैको चासोको विषय हो ।
यिनै प्रश्नहरूको जवाफमा केन्द्रित रहेर जानकारी दिलाउने उद्देश्यले यो सामग्री तयार गरिएको हो ।
ऋतुराज गायकवाड
चेन्नई सुपर किङ्सका कप्तान ऋतुराज गायकवाडले सन् २०२० मा पहिलो पटक आईपीएल खेलेका थिए ।
दायाँहाते ब्याट्सम्यान ऋतुराजले ६६ खेलमा २३८० रन बनाएका छन् । उनले दुई शतक पनि प्रहार गरेका छन् ।
सन् २०२१ मा उनले ६३५ रन बनाउँदै ओरेञ्ज क्याप जितेका थिए । त्यस वर्ष चेन्नई सुपर किङ्सलाई आईपीएलको उपाधि जिताउन उनको योगदान महत्त्वपूर्ण रह्यो ।
चेन्नई सुपर किङ्सले अहिलेसम्म पाँच पटक आईपीएलको उपाधि जितिसकेको छ ।
अब, ऋतुराज गायकवाडको कप्तानीमा टोली फेरि एक पटक च्याम्पियन बन्ने लक्ष्यसहित मैदानमा उत्रिने छ । उनलाई पूर्वकप्तान महेन्द्रसिंह धोनीको पनि साथ रहने छ ।
अक्षर पटेल
दिल्ली क्यापिटल्सका कप्तान अक्षर पटेलले सन् २०२४ को टी–२० विश्वकप र हालै सम्पन्न च्याम्पियन्स ट्रफीमा भारतलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
अक्षर पटेल अलराउन्डर हुन् । गुजरातमा जन्मिएका उनले सन् २०१३ मा मुम्बई इन्डियन्सबाट आफ्नो आईपीएल यात्रा सुरु गरेका थिए ।
सन् २०१४ मा पञ्जाबको तर्फबाट खेलेका उनले १७ विकेट लिएर टिमलाई फाइनलसम्म पुर्याउन ठूलो योगदान दिएका थिए ।
सन् २०१६ मा उनले आईपीएलमा ह्याट्रिक पनि लिएका थिए ।
सन् २०१९ मा दिल्ली क्यापिटल्सको टोलीमा सामेल भएका अक्षर पटेल पहिलो पटक टिमको कप्तानी गर्दै छन् ।
शुभमन गिल
गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई भारतीय क्रिकेटका उदाउँदा ताराका रूपमा हेरिन्छ ।
दाहिने हातका ब्याट्सम्यान गिलले सन् २०१८ को अन्डर–१९ विश्वकपमा भारतीय टोलीका लागि सबैभन्दा धेरै रन बनाएका थिए ।
त्यो वर्ष भारतले अन्डर–१९ विश्वकप जितेको थियो, जसमा शुभमन गिल उप–कप्तानको भूमिकामा थिए ।
सन् २०१८ मा उनले कोलकाता नाइट राइडर्सबाट आफ्नो आईपीएल करियर सुरु गरेका थिए र २०२१ सम्म सोही टोलीमा रहे । उनले सन् २०२० र २०२१ मा कोलकाताका लागि सर्वाधिक रन बनाएका थिए ।
सन् २०२२ मा गिल गुजरात टाइटन्समा सामेल भए ।
सन् २०२३ को आईपीएलमा उनले चार शतकसहित ८९० रनको रेकर्ड बनाए ।
हालै सम्पन्न च्याम्पियन्स ट्रफीमा भारतको जितमा पनि शुभमन गिलले सानदार प्रदर्शन गरेका थिए ।
अजिङ्क्य रहाणे
अजिङ्क्य रहाणेलाई एक भरपर्दो ब्याट्सम्यान मानिन्छ । उनले भारतीय राष्ट्रिय टोलीका साथै मुम्बई र विभिन्न आईपीएल टोलीहरूका लागि खेलिसकेका छन् ।
तर, यस सिजनमा उनी कोलकाता नाइट राइडर्सका कप्तान हुने छन् । केकेआरका समर्थकहरू उनलाई लिएर ठूलो आशा राखिरहेका छन् ।
सन् २००८ मा आईपीएल यात्रा सुरु गरेका रहाणेले अहिलेसम्म १८५ खेलमा ४६४२ रन बनाएका छन् ।
गत सिजनमा उनले १३ खेलमा २४२ रन बनाएका थिए ।
ऋषभ पन्त
लखनऊ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्त विकेटकिपर ब्याट्सम्यान हुन् । उनले अघिल्लो सिजन दिल्ली क्यापिटल्सका लागि खेलेका थिए ।
सन् २०१६ मा आईपीएलमा डेब्यू गरेका पन्तले हालसम्म १११ खेलमा ३२८४ रन बनाएका छन्, जसमा एक शतक र १८ अर्धशतक समावेश छन् ।
गत सिजनमा उनले १३ खेलमा ४४६ रन बनाएका थिए ।
हार्दिक पाण्ड्या
मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्याले सन् २०१५ मा आईपीएल करियर सुरु गरेका थिए ।
हालसम्म उनले १३७ आईपीएल खेल खेल्दै २५२५ रन बनाएका छन् । साथै, उनले ९२ खेलमा ४२ विकेट पनि लिएका छन् ।
हार्दिक पाण्ड्यालाई भारतीय क्रिकेटका भरपर्दा अलराउन्डरमध्ये एक मानिन्छ ।
हालै सम्पन्न च्याम्पियन्स ट्रफीमा उनले अन्तिम क्षणमा उत्कृष्ट ब्याटिङ गर्दै भारतीय टिमलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
श्रेयस अय्यर
पञ्जाब किङ्सका कप्तान श्रेयस अय्यरले सन् २०१५ मा आईपीएल करियर सुरु गरेका थिए । उनले हालसम्म ११६ खेलमा ३१२७ रन बनाएका छन् ।
श्रेयस अय्यरका लागि सन् २०२४ को आईपीएल सिजन पनि राम्रो रह्यो । उनले १५ खेलमा १४६ को स्ट्राइक रेटसहित ३५१ रन बनाएका थिए ।
अघिल्लो सिजनमा उनले कोलकाता नाइट राइडर्सका लागि खेलेका थिए ।
उनकै कप्तानीमा केकेआरले सन् २०२४ मा आईपीएलको उपाधि जितेको थियो ।
सञ्जु स्यामसन
राजस्थान रोयल्सका कप्तान सञ्जु स्यामसन एक विकेटकिपर ब्याट्सम्यान हुन् । मूलतः केरलका रहनेवाला सञ्जुले सन् २०१३ मा आईपीएल करियर सुरु गरेका थिए ।
राजस्थान रोल्सबाट आफ्नो करियर सुरु गरेका सञ्जु सन् २०१६ मा दिल्लीको आईपीएल टोलीमा सामेल भएका थिए । उनले सन् २०१९ को आईपीएलमा ३४२ रन र सन् २०२० मा ३७५ रन बनाएका थिए ।
सञ्जु स्यामसनले आईपीएलमा अहिलेसम्म १६८ खेलमा ४४१९ रन बनाएका छन्, जसमा तीन शतक र २५ अर्धशतक समावेश छन् ।
रजत पाटीदार
इन्दौरमा जन्मेका रजत पाटीदार सन् २०२२ मा रोयल्स च्यालेञ्जर्स बैङ्लुरुमा सामेल भएका थिए । उनले घरेलु क्रिकेटमा मध्य प्रदेश टोलीको प्रतिनिधित्व गरेका छन् ।
आईपीएलका २७ खेलमा रजतले ७९९ रन बनाएका छन् । उनका लागि अघिल्लो सिजनको आईपीएल निकै राम्रो रह्यो, जहाँ उनले १५ खेलमा १७७ को स्ट्राइक रेटसहित ३९५ रन बनाएका थिए ।
रजत पाटीदारलाई आरसीबीले कप्तान बनाएको छ । खेलप्रेमीहरू यसलाई महत्त्वपूर्ण परिवर्तनको रूपमा हेरिरहेका छन् ।
प्याट कमिन्स
अष्ट्रेलियाका प्याट कमिन्स एकमात्र विदेशी खेलाडी हुन्, जो आईपीएल टोलीको कप्तानी गर्दै छन् । कमिन्सले सन् २०१४ मा आईपीएल करियर सुरु गरेका थिए ।
उनले अहिलेसम्म आईपीएलका ५८८ खेलमा ५१५ रन बनाएका छन् र ३७ खेलमा बलिङ गर्दै ३८ विकेट लिएका छन् ।
प्याट कमिन्स सनराइजर्स हैदराबादका कप्तान हुन् ।
(बीबीसी हिन्दीको सहयोगमा तयार पारिएको ।)
FACEBOOK COMMENTS