काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट तीन कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति पाएका छन् । बोर्डले बिहीबार र शुक्रबार गरेर तीन कम्पनीको आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो ।
बोर्डले दुईवटा जलविद्युत् र एउटा उत्पादन तथा प्रशोधन समूहका लागि निष्कासन अनुमति दिएको हो । जसमा हिम पर्वत हाइड्रोपावरले स्थानीय र सर्वसाधारणका लागि कुल सेयरको ३५ प्रतिशत अर्थात् ५९ लाख १५ हजार कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको हो ।
६५ प्रतिशत प्रमोटरलाई राखेर कम्पनीले अंकित मूल्यमा ५९ करोड १५ लाख रुपैयाँ बराबरको सेयर निष्कासनमा ल्याउनेछ ।
यस्तै, बोर्डले कुल सेयरको २१.२५ प्रतिशत साधारण सेयर निष्कासनका लागि कान्तिपुर फर्माटिकल्स ल्याब लिमिटेडलाई पनि अनुमति दिएको छ । यो कम्पनीको कुल १७ करोड रुपैयाँबराबरको १७ लाख कित्ता सेयर निष्कासन स्वीकृति पाएको हो ।
बोर्डले बिहीबार नै आशुतोष इनर्जी लिमिटेडको पनि सेयर निष्कासन स्वीकृति दिएको छ । बोर्डले कम्पनीलाई कुल सेयरको २० प्रतिशत अर्थात् १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता सेयर निष्कासनको अनुमति दिएको हो ।
