काठमाडौं । सोफा खाली छ, अगाडि सुटकेसमा सामान प्याक गरिएको छ । पर्दाहरू तल तानिएका छन् र घरका बिरुवाहरू, सजावटका सामानहरू र कुसनहरूका गमलाहरू यसको छेउमा सफासँग राखिएका छन् ।
तेहरानका फारसी भाषीहरूमाझ सामाजिक सञ्जालमा एउटा प्रवृत्ति देखिएको छ, जसमा ‘घरको अन्तिम तस्बिर’ शीर्षकका मार्मिक तस्बिरहरू साझा गरिँदै छ । आफ्नो घरमा ताला लगाएर सहर छोड्ने मानिसहरूले यस्ता तस्बिरहरू साझा गरिरहेका छन् ।
इजरायलले इरानमा बमबारी जारी राखेको छ र राजधानी तेहरानका धेरै बासिन्दाहरूले सहर छोड्ने निर्णय गरेका छन्, भारी ट्राफिक जाम र पेट्रोल पम्पहरूमा लामो लाइनहरूको सामना गर्दै उनीहरू तेहरानबाट बाहिर निस्किने प्रयास गरिरहेका छन् । यद्यपि, उनीहरू फर्कँदा उनीहरूको घर उही अवस्थामा हुन्छ या हुँदैन भन्ने कुरा अनिश्चित छ ।
त्यस्तै, एक व्यक्तिले सामाजिक सञ्जालमा भावुक सन्दशस लेखेका छन्, ‘मैले मेरा प्रियजनहरूका साथ आवश्यक सामानहरू प्याक गरेँ, मेरा बिरुवाहरूलाई पानी दिएँ र सडकमा निस्किएँ । घर छोड्नु तब गाह्रो हुन्छ जब तपाईंलाई थाहा हुँदैन कि तपाईं फर्कन सक्नुहुन्छ या हुँदैन ।’
अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘घरमा यति दुखद घटना कहिल्यै भएको छैन । मलाई थाहा छैन हामी कहिल्यै फर्कन सक्छौँ कि सक्दैनौँ ।’
तेस्रो प्रयोगकर्ताले आफ्नो कार्यस्थलको तस्बिर पोष्ट गरे, जहाँ कम्प्युटर र हेडफोन राखिएको छ । उनले लेखेका छन्, ‘मैले धेरै मेहनत गरेका कुराहरूलाई बिदाइ दिँदै, ती कुराहरू जसका लागि मैले निद्रा भुलेँ र जसले मेरो कपाल सेतो बनायो । आशा छ, म फर्किएपछि पनि ती उस्तै रहने छन् ।’
लगभग एक करोड जनसङ्ख्या भएको उक्त सहरका अर्का बासिन्दाले लेखेका छन्, ‘विश्वविद्यालय र कामको सपना लिएर यस सहरमा आएको थिएँ । मैले धेरै माया र प्रयासले मेरो घर किनेर सजाएँ । मैले यसलाई चुपचाप बिदाइ गर्दैछु, आशा छ, म एकदिन मेरो सुन्दर र सुरक्षित स्वर्गमा फर्कने छु ।’
तस्बिरहरू साझा गर्ने मानिसहरूले सोमबार सहर खाली गर्ने इजरायलको आदेशअघि नै सहर छोड्ने निर्णय गरेका थिए ।
इजरायली सेनाले बासिन्दाहरूलाई ‘तुरुन्तै’ उत्तरी तेहरानको ठूलो क्षेत्र खाली गर्न भन्दै नक्सामा सहरका केही भागहरू चिह्न लगाउनुपर्ने बताएको थियो । इरानमा इजरायलको हवाई आक्रमण जारी रहँदा अहिलेसम्म २२४ जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।
त्यस्तै, इरानले इजरायलमाथि गरेको जवाफी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको छ । सुरूमा इजरायली आक्रमणहरू आणविक र सैन्य अड्डाहरू र शीर्ष अधिकारीहरूमा केन्द्रित थिए । अहिले इजरायली आक्रमण थप विस्तार भएको छ । राजधानीमा धेरै पटक प्रहार गरिएको छ, आवासीय क्षेत्रहरूलाई पनि लक्षित गरिएको छ, जसले गर्दा स्थानीय बासिन्दाहरू डराएका छन् र उनीहरूले आफ्नो घर वा कार्यलयको अन्तिम तस्बिर भन्दै सामाजिक सञ्जालमा भावुक सन्देशसहित पोष्ट गरिरहेका छन् ।
केही बासिन्दाहरूले भने आफ्ना वृद्ध आमाबाबु, बच्चाहरू र चिकित्सा आवश्यकताहरूको कारणले गर्दा वा उनीहरूसँग अर्को कुनै विकल्प नभएको कारणले बस्ने निर्णय गरेको लेखेका छन् ।
एक महिलाले आफू गर्भवती रहेको र उनकी एउटी सानी छोरी रहेकाले यो ट्राफिकबाट कसरी गुज्रने ? मैले यहाँ सबै कुरा बनाएकी छु, अब म कहाँ जाने ? भन्दै आक्रोशित भावमा दुःख व्यक्त गरेकी छन् । अर्की महिलाले आफू अविवाहित रहेको र ८०० किलोमिटर टाढा शिराजमा आफ्नो परिवारलाई भेट्न जान जोखिमपूर्ण रहेको उल्लेख गरेकी छन् ।
दुई बच्चाहरू भएकी ४० वर्षीया महिलाले बीबीसीसँग कुरा गर्दै भनेकी छन्, ‘म कतै जादिनँ, साँच्चै भन्ने हो भने म सहर छोडेर फर्कनेबारेमा सोच्दासोच्दा थाकेकी छु र मेरो सम्पूर्ण जीवन नष्ट भएको पाउँछु । मैले वर्षौंदेखि धेरै कडा परिश्रम गरेकी छु, चाहे त्यो कोभिड होस्, मुद्रास्फीति होस् वा अन्य । आज म जहाँ छु, त्यहाँ पुग्न मैले धेरै सङ्घर्ष गरेकी छु । यदि सबै कुरा नष्ट हुनेवाला छ भने म बच्चाहरू र घरसँगै छु, किनभने अब मसँग फेरि जीवन सुरू गर्ने साहस छैन ।’
तर, यो दुविधा इरानबाहिर बस्ने लाखौँ इरानीहरूले पनि महसुस गर्छन्, किनभने उनीहरू कमजोर इन्टरनेट जडानहरूमार्फत आफ्ना प्रियजनहरूलाई सम्पर्क गर्ने प्रयास गर्छन् र उनीहरूको बारेमा चिन्ता गर्छन् ।
विदेशमा रहेका केही इरानीहरूले भने उनीहरूका आफन्तहरूले उनीहरूको सल्लाहका बाबजुद सहर छोड्न अस्वीकार गरेको लेखेका छन् । त्यस्ता सन्देशहरूको जवाफ दिँदै तेहरानका एक बासिन्दाले लेखेका छन्, ‘कसैसँग पैसा छैन । कसैसँग जाने ठाउँ छैन । हामीलाई अहिले सहर छोड्न नभन्नुहोस्…।’
FACEBOOK COMMENTS