काठमाडौं । जुन १३ मा इजरायलले इरानको ‘आणविक कार्यक्रम’ सँग सम्बन्धित आधारहरूमा आक्रमण गरेपछि सुरू भएको युद्ध जारी छ । इरानस्थित गैर–नाफामुखी मानव अधिकार संस्था ‘ह्युमन राइट्स एक्टिभिस्ट्स इन इरान’ ले दुई देशहरूबीच बम विस्फोट सुरू भएदेखि हताहतको सङ्ख्याको अनुगमन गरिरहेको छ ।
यस संस्थाले इजरायली आक्रमणका कारण इरानमा ४५२ जनाको मृत्यु भएको छ र ६४६ जना घाइते भएको बताएको छ । इजरायली अधिकारीहरूका अनुसार शुक्रबारदेखि इजरायलमा २४ जनाको मृत्यु भएको छ र ८०० भन्दा बढी घाइते भएका छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमणमा अमेरिकाले पनि इजरायललाई प्रत्यक्ष रूपमा समर्थन गर्नुपर्छ भन्ने विचार गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
यसअघि उनले इरानलाई बिनाशर्त आत्मसमर्पण गर्न भनेका थिए । ट्रम्पले अमेरिकाले कम्तीमा अहिलेका लागि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई नमार्ने समेत बताएका थिए ।
इजरायलले शुक्रबारदेखि अहिलेसम्म ४०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । इजरायलले इरानको क्षेप्यास्त्र उत्पादन केन्द्र, सेन्ट्रिफ्युज प्लान्ट र इरानको सेनासँग जोडिएको संस्थामा आक्रमण गरिरहेको छ ।
FACEBOOK COMMENTS