करण चौधरी
अध्यक्ष, नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल
‘नाडा अटो शो’को १७औँ श्रृङ्खला केही भिन्न परिस्थिति र नयाँ इतिहास रच्ने विन्दुमा आयोजना हुँदैछ । तयारी के कसरी गर्नुभएको छ ?
नाडा अटो शो नाडाको एउटा महत्त्वपूर्ण चाड हो । नाडाको मात्र नभइ सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूको पनि चाड हो । यो चाडलाई न्याय दिनु मेरो यो कार्यकालको ठूलो मापन पनि हो । यो चिजको लागि म अनिधो बसेर भए पनि यो पटक खास र राम्रोसँग सम्पन्न गर्नेगरी लागिरहेको छु । अहिले म २४ घण्टै काम गरिरहेको छु ।
विगतका तुलनामा यो पटक चुनौती बढेर पनि बढी खटिनु परेको होला होइन ?
मेरो लागि चुनौती भनेको म आफैं हुँ । किनकी मेरो अपेक्षा म आफैं क्रियट गर्छु र बेञ्चमार्क पनि त्यही अनुसार क्रियट गर्छु । नाडामा मेरो कार्यकाल कसरी टुङ्ग्याउँछु र नाडालाई कस्तो बनाउँछु भन्ने आजको दिनमा मेरो सोच हो । मेरो बेञ्चमार्क हाइ छ । त्यसैका लागि म बढी काम गर्छु ।
१७औँ संस्करणको यो ऐतिहासिक नाडा अटो शोको मुख्य थीम के हो ?
नाडा अटो शो भनेको टेक्नोलोजी ड्राइभ गर्ने ठाउँ हो । टेक्नोलोजी ड्राइभबाट हामीले कसरी भविष्यलाई आत्मसात गर्न सक्छौँ भन्ने कुरा नै यो अटो शो को मुख्य लक्ष्य हो । त्यसैकारण हामीले यो संस्करणको नाडा अटो शोलाई ‘गो फर मोर’ नारा दिएका छौँ । यो नाराको भावलाई न्याय दिनका लागि हामीले हिड्ने ‘ह्युमनाइड रोबोट्स’देखि उड्ने ‘फ्लाइङ ट्याक्सी’सम्म यो शोमा प्रदर्शन गर्दैछौँ । त्यसका लागि दीपलको ‘ईभीटोल फ्लाइङ ट्याक्सी’ ल्याएका छौँ । अटोसम्बन्धी अन्य कुराहरू त झन् धमाकेदार तरिकाबाट हुने नै छन्, जो विगतमा पनि भएका थिए ।
त्यस्तै यो पटक हामी एउटा ‘सेप्रेट क्राउड’ जो नयाँ भन्दा पुरानो गाडी हेर्न इच्छा गरिरहेको छ, उनीहरूलाई पनि विशेष जोड दिएर समेट्ने प्रयास गरेका छौँ । त्यसका लागि ‘भेन्टेज कार पेभेलियन’ बनाएका छौँ । त्यसकारण नेपालमा यसपालीको नाडा अटो शोले सामाजका हरेक तह र तप्कालाई आकर्षण गरेको छ । यो शोमा साना–साना बालबालिकादेखि वृद्ध–वृद्धासम्मलाई आकर्षित गरिएको छ । सबैले नाडा अटो शो भिजिट गर्नुहुनेछ भन्ने पूर्ण विश्वास छ र उहाँहरूमाथि ठूलो अपेक्षा पनि छ, उहाँहरूले यो १७औँ संस्करणको नाडा अटो शोलाई अविष्मरणीय बनाउनुहुनेछ ।
नेपालमा जति पनि मेला, महोत्सव, प्रदर्शनी र एक्स्पोहरू हुन्छन् ती सबै नयाँ दिन र लिनका लागि भइरहेको पाइन्छ । तर, तपाइँले यो वर्षको नाडा अटो शोमा पुरानो गाडी पनि देखाउने भनेर ‘भेन्टेज कार पेभेलियन’ नै बनाएको बताउनुभयो । यसबारे अझै प्रष्ट पारिदिनुहोस् न त्यो केका लागि हो ?
नेपालमा एउटा जमात यस्तो हुनुहुन्छ, जसको गाडी छ, नयाँ प्रविधि भएको गाडी छ । तर, अझै पनि रमाउनका लागि पुरानै स्ट्याण्डर्डका गाडीहरू छ । आज हामी मसल कार भन्छौँ, भिन्टेज गाडीहरू भन्छौँ, राजा महेन्द्रका पालामा आएका गाडीहरू, यो सबैलाई हेरेर रुचाउने पनि धेरै ठूलो जमात छ । गत वर्ष हामीले यो जमातलाई समेट्न सकेनौँ र यो पटक त्यो जमातलाई समेटेका हौँ ।
त्यसो भए ‘भेन्टेज कार पेभेलियन’लाई त ‘संग्रहालय’ भन्दा पनि हुन्छ होला होइन ?
नाडाले नाडा अटो शोलाई प्रदर्शनीका रूपमा मात्रै होइन व्यावसायिक थलो पनि बनाउन चाहान्छ र व्यावसायिक थलो हो भनेर स्पष्ट भन्दै पनि आएका छौँ । यद्यपि, कतिलाई त प्रदर्शनी मात्रै पनि हो । कतिलाई रोबोटले रुचाउँछ भने कतिलाई नरुचाउन पनि सक्छ । त्यसकारण हामीले ३६० डिग्रीजमा हेर्दाखेरि टोटल अटोमोबाइल्स सेक्टरलाई नै कसरी रुचीको केन्द्र बनाउन सकिन्छ भन्नेबारे धेरै अध्ययन गरेर हामीले सबै प्रकारको व्यवस्था गरेका हौँ । हामीले सबै चिज समेटेको भएर सबैजना नाडा अटो शो भिजिट गर्न आउनुहुने निश्चि छ ।
नाइमाले भर्खरै मोबिलिटी एक्स्पो गरेर वर्षभरिका नयाँ गाडी/मोटरसाइकल देखाउने र किनाउने काम गरिसकेको स्थिति छ । करिब एक हप्ताकै अन्तरालमा तपाइँहरूको नियमित कार्यक्रमका रूपमा ‘नाडा अटो शो, २०२५’ आयोजना भएको छ । भनेपछि तपाइँहरूले दिने भिजिटरले लिने नयाँ चिज के हो ?
नेपालमा प्रदर्शनी धेरै हुन्छन् । अटोकै प्रदर्शनी पनि धेरै भइसकेका छन् । मेरो लागि यो कुनै नौलो कुरा होइन । र, तपाइँले उल्लेख गर्नुभएको तथ्यहरूले मलाई अत्याउने वा चुनौती दिने कुनै सवालै छैन । नाडा अटो शो नाडा अटो शो हो, यो शोलाई कम्पिट गर्न ‘पेसिबिलिटी’ छैन । अस्ति भर्खरै कार मिट पनि भएको थियो । त्यसलाई पनि म चुनौतीको रुपमा लिउँ त ? नाडा अटो शोसँग कम्पिट गर्न भारत मोबिलिटी शो छ, चाइनिज काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड अटोमोबाइल (सीसीपीआईटी–अटो) ले चम्किनमा अटो शो गर्यो हामीले नाडा अटो शोलाई त्यो स्तरमा पुर्याउँदैछौँ । यो पटक अझै सुदृढ र उच्चस्तरको अटो शो आयोजना गर्दैछौँ ।
मोबिलिटी एक्स्पो सकिएको हप्तादिन नपुग्दै आयोजना भएको प्रदर्शनीमा के त्यस्तो नयाँ दिएर नाडा अटो शोलाई नयाँ उचाइमा पुर्याउँदै हुनुहुन्छ ?
सरकारलाई आउँदो दशकका लागि ‘एअर मोबिलिटी– फ्लाइङ ट्याक्सी’लाई नीति प्रवर्द्धन गर्ने बहस सृजना गर्दैछौँ, यो सबैभन्दा नयाँ विषय हो । ग्राहकहरूलाई नयाँ अवधारणा पस्किदैछौँ र आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई ‘माइण्ड फ्रेस’ गराउँदैछौँ । यो तीन कुरालाई स्थापित गर्न सकियो भने मलाई लाग्छ, देशबाट पलायन भइरहेको ठूलो जनशक्ति स्वदेशमा रोक्न सकिन्छ भन्ने विश्वाससमेत गरेका छौँ ।
नेपालमा ‘एअर मोबिलिटी’को सुरूवात र सम्भावनाका विषय यहाँले उठाउनुभयो । नेपालको परिवेशमा त्यो कत्तिको उपयुक्त र सम्भावनायुक्त कुरा हो ?
यो सन्दर्भमा म तपाइँलाई एउटा आइडियल नेपालको परिचय गराउन चाहान्छु । नेपालको भौगोलिक बनावट र प्राकृतिक प्रकोपलगायत घटनाले निम्त्याइरहने अनेकन समस्याहरू समाधानको अचुक उपाय नै ‘एअर मोबिलिटी’ हो । हाम्रा बाटोहरू बन्द भएको अवस्थामा एअर ट्याक्सीमार्फत आफ्नो गन्तव्यमा पुग्न पाउनुजस्तो राम्रो नेपाल के हुन्छ ? यदि नीति प्रवर्द्धन हुनसक्ने हो भने यो कुरा हामीबाट धेरै टाढा छैन । तर, सरकारले आवश्यक पूर्वाधार र नीतिहरू निर्माण गर्ने सन्दर्भमा चासो लिनु आवश्यक छ ।
आम अटोमोबाइल व्यवसायीहरूको छाता संस्थाका रूपमा रहेको नाडामाथि पछिल्लो समय स्थापित नाइमाले गरिरहेको समानान्तर गतिविधिले चुनौती थपेको जस्तो देखिन्छ, तपाईंलाई के लागिरहेको छ ?
यो प्रसङ्गका लागि म एउटा सान्दर्भिक उदाहरण प्रस्तुत गर्न चाहान्छु– मैले यहाँलाई एउटा कुरा भनेँ मेरो आवाजबाट सुन्नुहुन्छ, यहाँलाई त्यही कुरा १० जनाले भन्नुभयो भने तपाइँ अझ धेरै कन्भिन्स्ड हुनुहुन्छ कि ? त्यसैले नेपालको अटो क्षेत्रमा नाडाले जुन भूमिका खेलेको छ, जसरी लागेर काम गरिरहेको छ त्यो चिजमा टेवा पुर्याउनकै लागि त्यो संस्था जन्मिएको मलाई लागिरहेको छ र सोही अनुसार आफ्नो गतिविधि अगाडि बढाउनेछ भन्ने आशा राखेको छु । मिलेर काम गर्दा अटोमोबाइल क्षेत्रको स्ट्रेन्थ अवश्य पनि बढ्छ र धेरै अगाडि जान सकिन्छ । त्यसकारण हाम्रा मुद्दाहरू थप बलियो भएका छन् । तपाइँले उल्लेख गर्नुभएका प्रसङ्ग र विषयवस्तुहरूलाई मैले र नाडाले सकारात्मकरूपमा लिएका छौँ ।
चालू बजेटले बटोमोबाइल क्षेत्रका पुराना मागहरू सम्बोधन गरेको थियो । तर, मौद्रिक नीति सोचेजस्तो आएन । त्यसले यो अटो शोमा केही फरक पार्छ ?
बजेटले ल्याएको व्यवस्था ‘सुन’ थियो । मादैद्रिक नीतिले पनि समेटेको भए ‘सुनमा सुगन्ध’ हुन्थ्यो । तर, हामी यही अन्तिम सत्य हो भनेर निराश छैनौँ । किनकी बजेट वर्षमा एक पटक आउँछ, तर मौद्रिक नीतिको समीक्षा भइरहन्छ । अब हुने समीक्षामा हाम्रो मुद्दा समेटिने कुरामा हामी धेरै विश्वस्त छौँ ।
अटो शो भन्ने वित्तिकै गाडी, मोटरसाइकल र अटो कम्पोनेन्टहरू त हुने नै भए । त्यसबाहकेका अरु गतिविधिहरू के–के हुनेछन् ?
हामीले भर्खरै ‘अटो डायलग’ गरेका थियौँ । त्यसबाट हामी अत्यन्तै उत्साहित बनेका छौँ र सरकारका विभिन्न निकायहरूबाट पनि हामीलाई यस्तो अझै गर्नुपर्छ भनेर अनुरोधहरू आएका छन् । जनतामा जागरण ल्याउनाका साथै नीतिनिर्माणको तहमा पनि प्रभाव राख्नसक्ने भएकाले उहाँहरूबाट त्यस्तो अनुरोध आएको हो । त्यसकारण यो पटकको नाडा अटो शोमा मैले करिब २० वटाजति विषयवस्तु छानेका छौँ । यो अटो शोको ६ दिननै अवलोकनकर्ताहरूलाई लक्षित गरेर बहस र अन्तक्र्रिया कार्यक्रमहरू गर्छौँ । यसबाट नेपालको अटो क्षेत्रमा राम्रो गति आउने र हाम्रो प्रगतिलाई ‘सुपरफास्ट’ गतिमा अघि बढाउँछ भन्ने अपेक्षा गरेका छौँ ।
अध्यक्षको हैसियतले यो वर्षको अटो शोमा तपाईंको व्यक्तिगत अपेक्षा के हो ?
यो अटो शोमा मेरो एउटै मात्र स्वार्थ छ त्यो हो, अटोमोबाइल्स क्षेत्रको सुदृढीकरण । यो क्षेत्र सुदृढ हुँदा त्यसको भागीदार म पनि हुन पाउँछु । नेपालमा अटोमोबाइलको क्षेत्र जति धेरै बढ्छ त्यसको म ठूलो हिस्सेदारको रुपमै अगाडि बढ्न पाउँछु । त्यसकारण यो मेरो लागि गर्नुपर्छ, मैले नगरे कसले गर्छ र म नाडाको अध्यक्ष भएको बेला गरिनँ भने कहिले गर्ने ? मैले जे–जे ल्याउन खोजिरहेको छु त्यसको मुलभूत कारण भनेकै अटोमोबाइल क्षेत्रलाई देशमा चिनाउनु हो । मैले विभिन्न ठाउँमा धेरै समयदेखि भन्दै आएको छु, अटो मोबाइल क्षेत्र देशको मेरुदण्ड हो । यो विषय गत वर्षको अटो शोबाट सरकारलाई चिनाउन/बुझाउन सफल भएका छौँ । यो पाली मैले कोसिस गरेर नेपालबाट विदेशीहरूलाई चिनाउन चाहान्छु ।
तपाइँको यो भनाइ गराइमा परिणत होस् हामी पनि त्यो चाहान्छौँ । तर, तपाइँहरूको कुरा सरकारले सुन्दैसुन्दैन भनिन्छ, अनि के गर्नुहुन्छ ?
पछिल्लो समय सरकारले हाम्रा कुराहरू सुन्न थालेको छ । मलाई आशा छ कि आउँदा दिनमा यो भन्दा बढी सुन्नेछ र हाम्रा समपना देशको हो भन्ने बुझेर आत्मसात गरी कार्यान्वयनमा लैजाने छ ।
अटोमोबाइल क्षेत्रको दीर्घकालीन विकासका लागि नाडाले के–कस्तो रणनीति बनाइरहेको छ ?
हामी नेपालको अटो क्षेत्रको नीति होस् वा नवप्रवर्तन जुनसुकै कुरामा अगाडि हुन चाहान्छौँ । नयाँ सवारी मापदण्ड आउँदैछ त्यसमा पनि नाडाको सुझाव अत्यन्तै जरुरी छ । किनभने हामी गाडी आयातकर्ता मात्र होइनौँ सम्पूर्ण अटो क्षेत्रको पारिस्थितिक प्रणाली ‘इकोसिस्टम’ राखेर बसेका संस्था हौँ । यो संस्थाले समग्र अटो क्षेत्रकै विकासका लागि सोच्दछ । त्यसकारण पनि नाडाको ‘वेट’ ठूलो छ । यो चिजलाई अझै मेहनत गरेर, अझै झकझक्याएर र अझै एक्टिभिटिजहरू गरेर काम गर्न सकिन्छ भन्ने नाडाको रणनीतिक विश्वास छ ।
पछिल्लो समय नेपालमा विद्युतीय गाडी (ईभी)को आयात र प्रयोग बढिरहेको छ । तर, तुलनात्मकरूपमा इन्टरनल कम्बुस्टन इन्जिन (आईसीई) गाडीको पनि बिक्री बढ्यो भन्नेजस्ता आँकडाहरू बाहिर आउन थालेका छन् । के ईभीप्रतिको आकर्षण घट्न थालेको हो र ?
यो प्रसङ्ग अत्यन्त महत्वपूर्ण हो । तर, अहिलेको लागि आईसीई गाडीको बिक्री बढेको होइन, उत्ति उत्ति नै छ । किनभने यो देशमा ७२% ईभी आयात भइरहेको अवस्थालाई हेर्दा खासै परिवर्तन भएको मान्न सकिदैन । तर, सरकारको नीति जतातिर घुम्नेवाला छ, हामी व्यवसायीहरू त्यतैतिर नाच्नेवाला छौँ । अहिले सरकारको आवश्यकता र दृष्टिकोण ‘इलेक्ट्रिफिकेस’तर्फ नै उन्मुख रहेको हामीले पाएका छौँ । त्यसर्थ अहिलेको ७२% बढ्दै जान सक्छ ।
अन्तिममा केही थप्न चाहानुहुन्छ कि ?
नाडा अटो शो आइदिनुहोस् । कुनै न कुनै रुपबाट तपाइँहरूको माग सम्बोधन गर्न सकिनँ र यहाँको रुचीलाई समेट्न सकिनँ भने अर्को पटकका लागि पाठ र प्रेरणा हुनेछ । तर, त्यो प्रेरणा र पाठ धेरै कम हुनेवाला छ । त्यसकारण तपाइँ नछुट्नुहोस्, आएर हेरिदिनुहोस् र मजा लुट्नुहोस् । नाडा स्थापना भएको ४९ वर्ष भयो । यसले अहिलेसम्म १६ वटा नाडा अटो शो भव्यताका साथ सम्पन्न गरिसकेको छ । यो १७औँ संस्करणको नाडा अटो शो भव्यतासँगै बबाल र ऐतिहासिक हुनेछ ।
यो पनि–
सम्पादकीय : नेपालको अटोमोबाइल क्षेत्रमा नाडा अटो शो, २०८२ ले ल्यायो नयाँ आयाम
FACEBOOK COMMENTS