काठमाडौं । विवादित स्टाटसलाई लिएर क्रिकेटर करण केसी कारबाहीमा परेका छन् । उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले एक म्याच प्रतिबन्ध तथा म्याच फी काट्ने निर्णय लिएको छ ।
प्रतिवन्धका कारण केसीले आजको म्याच खेल्न पाएनन् । आज नेपाल पुलिस र मधेसबीचको म्याचमा उनी छुटेका हुन् । करणले पृुलिस टिमबाट खेल्दै आएका छन् । आजको म्याचको म्याच फी पनि काटिएको छ ।
करणले हिजो फेसबुकमा अम्पायरहरूप्रति धम्कीयुक्त स्टाटस लेखेका थिए । कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिटेमा कति म्याच प्रतिबन्ध हुन्छ ? भन्ने उनको प्रश्न थियो ।
करणको उक्त स्टाटसलगत्तै क्रिकेट अम्पायर तथा स्कोरर संघले आकस्मिक बैठक बसेर विज्ञप्ति नै जारी गरी आपत्ति जनाएको थियो ।
यो विषयलाई क्यानले पनि गम्भीररूपमा लिएको बुझिएको छ । क्यान उच्च स्रोतका अनुसार करणलाई आजको म्याच नखेल्न भनिएको छ ।


