काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन पछि कैयौं वरिष्ठ नेताहरुले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । यसैक्रममा एमाले नेता काशीनाथ अधिकारीले पनि सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् ।
उनले ४४ बर्ष राजनीतिमा सक्रिय भएर राजनीतिबाट बिदा भएको घोषणा गरेका हुन् । उनले आफु ३३ बर्षसम्म केन्द्रीय सदस्य भएपनि कहिल्लै नेता नभएको र कार्यकर्ता भएको राजनीतिककर्मी रहेको बताएका छन् ।
उनले भनेका छन्– ’पचास बर्षको राजनीतिक जीवनमा ४४ बर्ष पूर्णकालिन भएर काम गरें । जति दिन काम गरें पुरा मनले गरें । इमान, निष्ठा र समर्पणकासाथ गरें । तन, मन र धन समेत दिएर निसर्त तथा निस्वार्थरुपमा गरें । म ल्यांगल्यांगे कार्यशैलीको विरोधी हुं, जसरी पनि जिम्मा पुरागर्ने मेरो कार्यशैली रह्यो ।
नेकपा (एमाले) मा लगातार ३३ बर्ष केन्द्रीय सदस्य भएपनि म कहिल्यै नेता थिइन । म कार्यकर्ताको पात्रता भएको राजनीतिकर्मी थिएं । समाज बदल्न हिंडेको वास्तबिक झोले कार्यकर्ता थिएं ।’ अधिकारीले आफुले कहिल्यै पनि पद र अवसरका लागि मरिहत्ते नगरेको उल्लेख गर्दै आफ्नो सपना असल कम्युनिष्ट बन्ने थियो तर सबै मानकहरु पुरागर्न नसकेको उल्लेख गरेका छन् ।
उनले अब पार्टीका कुनै पनि कमिटी र निकायमा नरहने बताउदै पार्टीको साधरण सदस्य रहेर पार्टी, समाज, र देशका हितमा यथासम्भब काम गरिरहने बताएका छन् । उनले आफुले कुनै गुनासो गरेर नभएर नेतृत्वप्रति आभार र धन्यवाद ब्यक्त गरेर , खुसीले, ६६ बर्षको उमेरमा सक्रिय राजनीतिबाट विदा भएको बताएका छन् ।

FACEBOOK COMMENTS