काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा बैठक आज बस्दै छ ।
नीति तथा कार्यक्रम र समीक्षा प्रतिवेदनमाथि छलफल गर्न आज दिउँसो २ बजे नगरसभाको बैठक बोलाइएको हो ।
बैठकमा नगरसभा सदस्यहरूले आफ्नो धारणा राख्ने तथा संशोधन हाल्ने कार्यसूची छ । नगरसभा बैठकमा नीति तथा कार्यक्रम, बजेट, विनियोजन ऐन र आर्थिक ऐनमाथि विस्तृत छलफल र निर्णयसमेत हुने बताइएको छ ।
यसअघि सोमबार बसेको बैठकमा मेयर बालेन साहले चालु आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन तथा समीक्षा प्रस्तुत गरेका थिए भने उनले आगामी आर्थिक वर्षका लागि १९ बुँदे प्रस्तावित नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेका थिए ।
त्यस्तै, उपप्रमुख डङ्गोलले २०८२/८३ का लागि बजेट तथा कार्यक्रम आर्थिक तथा विनियोजन विधेयक प्रस्ताव नगरसभामा पेस गरेकी थिइन् । उनले आगामी आर्थिक वर्षका लागि जम्मा २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् । प्रस्तुत बजेटअनुसार २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने अनुमान गरिएको छ ।
बजेट पेस गर्दै उपप्रमुख डङ्गोलले भनिन्, ‘अगामी वर्षका लागि सञ्चित कोषमा जम्मा हुने २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँमा काठमाडौं महानगरपालिकाको आन्तरिक आय र बैंक मौज्दातसमेत गरी २० अर्ब १२ करोड ६४ लाख रुपैयाँ स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ । साथै, नेपाल सरकार तथा प्रदेश सरकारबाट सशर्त, समानीकरण र राजस्व बाँडफाँटमार्फत ४ अर्ब ९८ करोड ७९ लाख रुपैयाँको अनुदान सुनिश्चित भएको छ ।’
प्रस्तावित बजेटमा पूर्वाधार विकासतर्फ ५१ प्रतिशत अर्थात् १२ अर्ब ८० करोड ८३ लाख १४ हजार, सामाजिक विकासतर्फ २० प्रतिशत अर्थात् ५ अर्ब २ करोड २८ लाख ६८ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत अर्थात् ३ अर्ब १ करोड ३७ लाख २१ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ १४ प्रतिशत अर्थात् ३ अर्ब ५१ करोड ६० लाख ८ हजार र आर्थिक विकासतर्फ ३ प्रतिशत अर्थात् ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ ।
FACEBOOK COMMENTS