काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले उपप्रधानमन्त्री याङ सुङ-होलाई बर्खास्त गरेका छन् ।
कोरियाली समाचार एजेन्सी केसीएनएका अनुसार, किम जोङ उन औद्योगिक परियोजनाको पहिलो चरणको उद्घाटन गर्नक्रममै याङ सुङ-होलाई हटाउन आदेश दिएका हुन् । मञ्चबाट किमले उपप्रधानमन्त्रीलाई हप्काउदै ठाउँ छोडेर जान निर्देशन दिएको बताइएको छ ।
किमले याङ गह्रौं जिम्मेवारी सम्हाल्न अयोग्य भएको बताएका थिए । किम उनले र्योङसोङ मेसिन कम्प्लेक्सको आधुनिकीकरणको पहिलो चरणमा भएका गम्भीर गल्तीहरू सच्याउन याङलाई धेरै अवसर दिएको र त्यो काम गर्न नसकेको बताइएको छ । किमले याङलाई पदबाट हटाउनु आवश्यक रहेकोमा जोड दिए ।
उनले याङले गत महिनाको एक महत्त्वपूर्ण पार्टी बैठकमा पनि आफ्नो फाइदाको लागि पार्टीलाई भ्रमित गर्ने प्रयास गरेको आरोप लगाएका थिए ।
यो कारबाही देश सत्तारुढ वर्कर्स पार्टीको नवौं पार्टी कांग्रेसको लागि तयारी गरिरहेको बेला आएको हो । उत्तर कोरियामा यस तरिकाले अधिकारीहरूलाई सार्वजनिक रूपमा गाली गर्नु असामान्य होइन । याङ सुङ-हो पहिले देशको मेसिनरी उद्योग मन्त्री थिए । पछि उनलाई मेसिनरी क्षेत्रको जिम्मेवारी सम्हाल्ने उपप्रधानमन्त्रीमा पदोन्नति गरिएको थियो । दक्षिण कोरियाको राज्य सञ्चालित एजेन्सी योनहापका अनुसार, उनी पार्टीको शीर्ष नेतृत्वको पनि हिस्सा थिए, तर त्यहाँ उनको भूमिका स्थायी थिएन । उनको ठाउँमा कसले जाने भन्ने कुरा अहिलेसम्म घोषणा गरिएको छैन ।

केसीएनएका अनुसार, किम जोङ उनले र्योङसोङ मेसिन कम्प्लेक्सको आधुनिकीकरणमा ढिलाइको लागि आर्थिक नीति अधिकारीहरूलाई दोष दिएका छन् । उनले अधिकारीहरूको लापरवाही र अक्षमताका कारण परियोजनाले धेरै समस्या भोगेको बताए । गत हप्ता, किम जोङ उनले तीन अधिकारीहरूलाई हटाएका थिए ।

किम जोङ उनले लामो समयदेखि आफ्नो काममा लापरवाही गरिरहेका पार्टी सदस्यहरूप्रति पनि असन्तुष्टि व्यक्त गर्दै वर्तमान आर्थिक नीति सम्हाल्ने अधिकारीहरू देशको उद्योगलाई पुनर्गठन गर्न र प्राविधिक रूपमा अगाडि बढ्न असमर्थ रहेको बताएका थिए ।

उत्तर कोरियामा सार्वजनिक रूपमा बर्खास्त गर्ने घटनाहरू दुर्लभ छन्, तर यस्ता घटनाहरू पहिले पनि भएका छन् । २०१३ मा, किम जोङ उनका काका, जाङ सोङ-थाएकलाई कूको षड्यन्त्र गरेको आरोपमा मृत्युदण्ड दिइएको थियो ।

कूको षड्यन्त्र गर्नुको साथै, थाएकलाई भ्रष्टाचार, पार्टी विरोधी गतिविधि, विदेशी शक्तिहरू, विशेष गरी चीनसँग अनुचित सम्बन्ध र देशको अर्थतन्त्रलाई हानि पुर्याएको आरोप लगाइएको थियो ।
FACEBOOK COMMENTS