काठमाडौं । नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका थप २४ गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सशस्त्र प्रहरीका प्रवक्ता (डीआईजी) विष्णु प्रसाद भट्टले थप २४ सहित ७७४ गाडी नियन्त्रणमा लिइएको जानकारी दिए ।
यसअघि ७५० गाडी नियन्त्रणमा लिइएको सशस्त्रका अधिकारीहरूले बताएका थिए ।
गएराति मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट नियन्त्रणमा लिइएको गाडीको संख्या यकिन गर्दा ७७४ पुगेको हो ।
बजेट वक्तव्य सार्वजनिक हुनुअघि नै ती गाडी नेपाल भित्रिएको बताइएको छ ।

गाडीहरू विभिन्न जिल्लामा लैजान लागेको सूचना पाएपछि नेपाल प्रहरीसँगको समन्वयमा सशस्त्रले ती गाडी नियन्त्रणमा लिएको हो । बरामद गाडी नम्बर प्लेट बिनाका हुन् ।

शङ्का लागेर नियन्त्रणमा लिइएका ती गाडीका कागजात भन्सारसँगको समन्वयमा चेकजाँच गरिने सशस्त्र प्रहरीले जनाएको छ ।

बजेट बक्तव्यमा करको दर हेरफेरको सूचना लिक भएपछि ती गाडी आयात गरिएको आशंका गरिएको छ । बरामद गरिएको मध्ये धेरै गाडी चिनियाँ बिवाईडी कम्पनीका छन् ।