काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुन: राजनीतिक रूपमा सक्रिय देखिन थालेसँगै नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र नयाँ शक्ति सन्तुलनको बहस सुरू भएको छ ।
यसअघि पार्टीमा भण्डारीको औपचारिक पुनरागमनमा रोक लगाइएको भए पनि पछिल्लो विकसित राजनीतिक परिस्थिति, विशेषगरी फागुनको निर्वाचनमा एमालेले भोगेको पराजयपछि भण्डारीको सक्रियता पुन: बढेको हो ।
यही क्रममा वैशाखको पहिलो साता उनले पार्टीका केही शीर्ष नेता तथा जनवर्गीय सङ्गठनका प्रतिनिधिसँग भेटघाट गर्दै राजनीतिक संवाद अघि बढाएकी छिन् । काठमाडौंको नयाँ बानेश्वरस्थित थापागाउँमा रहेको मदन भण्डारी फाउन्डेसनको कार्यालयमा भएको उक्त भेटघाटमा एमालेका सचिव भानुभक्त ढकाल लगायतका नेताहरू सहभागी थिए ।
सचिव ढकाल अध्यक्ष केपी शर्मा ओली निकट हुन् । विगतमा भण्डारीको पुनरागमनको विपक्षमा रहेका ढकाल अहिले उनीसँग संवादमा उत्रनु पार्टीभित्रको बदलिँदो शक्ति सन्तुलनको सङ्केतका रूपमा हेरिएको छ । उक्त छलफलमा मुख्य रूपमा स्वर्गीय मदन भण्डारीको हीरक जयन्तीलाई व्यवस्थित रूपमा मनाउने विषयमा कुरा भए पनि यसले गहिरो राजनीतिक सन्देश दिएको विश्लेषण गरिएको छ ।
गत वर्ष मदन भण्डारीको जन्मजयन्तीका अवसरमा विद्या भण्डारीले एमालेमा फर्कने घोषणा गरेपछि अध्यक्ष ओलीको निर्देशनमा उनको सदस्यता खारेज गरिएको थियो । त्यसयता एमालेभित्र ओली र भण्डारीबीचको दूरी बढ्दै गएको थियो । ईश्वर पोखरेल नेतृत्वको समूहले भण्डारीको पुनरागमनको पक्षमा आवाज उठाउँदै आएको थियो । यस समूहमा योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे लगायतका नेताहरू सक्रिय थिए ।

उनीहरूले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) को पुनर्स्थापनामा जोड दिएका थिए । तर विधान महाधिवेशन र ११औँ महाधिवेशनमा यो समूह अपेक्षित रूपमा सफल हुन सकेन ।

फागुनमा सम्पन्न निर्वाचनमा एमालेले व्यहोरेको पराजयले पार्टीभित्र गहिरो असन्तुष्टि उजागर गरेको छ । कतिपय स्थानमा आफ्नै सङ्गठित सदस्यहरूले समेत पार्टीलाई मतदान नगरेको देखिएको छ । यसले आन्तरिक विभाजन र असन्तुष्टिको स्तर प्रष्ट पारेको छ । कतिपय नेताहरूका अनुसार भण्डारी पक्षका कार्यकर्ताहरूले असन्तुष्टिका कारण पार्टीलाई अपेक्षित समर्थन नगरेको हुनसक्ने आकलन गरिएको छ । यसबारे प्रतिक्रिया दिँदै उपमहासचिव योगेश भट्टराईले भण्डारीप्रति गरिएको व्यवहारले पनि निर्वाचन परिणाममा प्रभाव पारेको हुनसक्ने स्वीकार गरेका छन् ।

यस्तै, नेता ठाकुर गैरेले भण्डारीको सदस्यता खारेज गर्ने निर्णय अन्यायपूर्ण भएको बताएका छन् । पार्टीको विधानमा रहेका उमेर र कार्यकालसम्बन्धी प्रावधानहरू केही व्यक्तिका लागि हटाउने तर भण्डारीमाथि कडाइ गर्नु न्यायोचित नभएको उनको तर्क छ । यसले एमालेभित्र नीति र व्यवहारबीचको द्वन्द्व देखिएको जानकारहरूको बुझाइ छ ।
अहिले एमालेभित्र नेतृत्व र सङ्गठन पुनर्गठनको बहस चर्किँदै गएको छ । उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेल लगायत नेताहरूले पार्टीलाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता औँल्याउन थालेका छन् ।
एमालेले गत बुधबार पार्टीको ७७औँ स्थापना दिवस मनायो । ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालय परिसरमा विशेष कार्यक्रम आयोजना गरी दिवस मनाएको थियो । उक्त कार्यक्रममा विष्णु पौडेलले पार्टीले आफ्ना कमजोरीप्रति आत्मालोचना गर्दै सङ्गठन र कार्यशैलीमा परिवर्तन ल्याउने बताएका थिए । उनले एमाले स्थायी रूपमा नहारेको र एक चुनाव मात्र गुमाएको उल्लेख गर्दै पुनरुत्थानको लागि जोड दिएका थिए ।
नेकपा एमालेभित्र धेरैजसो नेता तथा कार्यकर्ताहरू अब केपी ओलीको नेतृत्वमा अघि बढ्न सकिँदैन भन्ने निष्कर्षमा पुगेको देखिन्छ । तर, केपी ओलीको विकल्पमा को भन्ने अन्यौलता कायमै छ ।
यसैबीच विद्या भण्डारीले आफूलाई केपी ओलीको विकल्पको रूपमा प्रस्तुत गर्ने प्रयास गरेकी छिन् । उनले एमालेको मात्रै होइन समग्र कम्युनिस्ट पार्टीको समेत नेतृत्व गर्ने इच्छा देखाउँदै आएकी छिन् ।
एमालेभित्र अहिले विद्या भण्डारीको पुन: सक्रियता, नेतृत्वप्रति बढ्दो असन्तुष्टि र नयाँ नेतृत्वको खोजी एकै पटक अघि बढिरहेका छन् । अब भण्डारीले आफूलाई पुन:स्थापित गर्न सक्नेछिन् वा पार्टीले नयाँ पुस्तालाई अघि सार्ने छ भन्ने प्रश्नको जवाफ आगामी दिनको एमालेले अघि सार्ने राजनीतिक रणनीतिले निर्धारण गर्ने छ ।