काभ्रेपलाञ्चोक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र बलियो बनाउँदै नागरिकको जीवनस्तर उकास्नुपर्ने बताएका छन् ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा–२०८० अन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरस्थित कुन्तामा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई सबै पक्ष मिलेर उकास्नुपर्ने आवश्यकता औँल्याए ।
“अर्थतन्त्रलाई सबै पक्ष मिलेर उकास्नुपर्छ र नागरिकको जीवनस्तर सबल बनाउँदै जानुपर्छ”, अध्यक्ष ओलीले भने । उनले लोकतन्त्रको संस्थागत विकास गर्दै यसका प्रणालीलाई सही ढङ्गले अघि बढाउन सुझाव दिँदै सरकारले जनतामा निरासा आउन नदिने गरी काम गर्न सुझाव दिए । “अर्थतन्त्र बलियो नहुँदा जनतामा निरासा छाएको देखियो, यसमा सरकारलगायत सबै पक्षले अब आ–आफ्नो दायित्वप्रति गम्भीर हुनुपर्छ”, उनले थपे ।
अध्यक्ष ओलीले उद्यमशीलतामा जोड दिए रोजगारीका अवसर आफैँ सिर्जना हुने भएकाले यसप्रति जोड दिनुपर्ने बताए । उनले भने “रोजगारी हैन, उद्यमशीलता प्रमुख विषय हो, उद्यमशीलताले रोजगारी सिर्जना गर्ने हो, यसरी अरूलाई पनि रोजगारी दिन सकिन्छ ।” उनले इन्द्रावती नदीको पानी टनेलमार्फत ल्याई मण्डनदेउपुर र पाँचखालको फाँट हराभरा बनाउन सकिने तथा यस भेगका युवामा आफूले खेलकुदमा आकर्षण देखेकाले ‘मल्टिपरपोज’ खेल मैदान निर्माण गर्न सकिने बताए ।
अध्यक्ष ओलीले कृषिमा आधुनिकीकरण र व्यावसायिकीकरण हुनुपर्ने उल्लेख गर्दै प्रविधिको प्रयोग गरी उत्पादन बढाउनुपर्ने बताए । “अन्य व्यवसायलाई निर्वाहमुखी हैन, विकासमुखी र परिवर्तन गर्नेगरी अघि बढाउनुपर्छ”, उनको तर्क थियो । उनले समृद्ध नेपाल निर्माणको सपना साकार पार्न आफ्नो पार्टीले सङ्कल्प यात्रा थालेको बताउँदै देश र जनताको स्वाभिमानलाई झुक्न नदिने गरी उत्साहजनक ढङ्गले यात्रा अघि बढिरहेको जनाउँदै खुसी व्यक्त गरे ।
FACEBOOK COMMENTS