काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जवाफ दिँदै कीर्तिपुरको मैदानमा फ्लडलाइट र प्यारापिट हेर्न जान आग्रह गरेका छन् ।
प्रचण्डले आज संसदमा सोधेको प्रश्नको सामाजिक सञ्जालमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले प्रचण्डलाई कीर्तिपुरमा बनिरहेको प्यारापिट र जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जान आग्रह गरेका हुन् ।
साथै ओलीले प्रचण्डलाई तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो भन्ने प्रश्न गर्दै तथ्याङ्क हेर्न सुझाव दिएका छन् ।
उनले भनेका छन्–
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ– कीर्तिपुरको मैदानमा खोइ फ्लडलाइट ? खोइ प्यारापिट ? मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ ।
तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन । सरकारको कामबारे तथ्यतथ्याङ्क राखेर तपाईंले प्रधानमन्त्रीको रूपमा जवाफ पनि दिनु परेन । तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम । मैले त दिन तोकेर गर्छु भनेँ, आफैंमाथि प्रश्न आह्वान गरेँ र काम पनि गरेँ । तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु ।
FACEBOOK COMMENTS