काठमाडौं । गृहमन्त्री रमेश लेखक भिजिट भिसामार्फत हुने गरेको मानव तस्करीमा ‘सेटिङ’ मिलाउन आर्थिक लेनदेन गरेको गम्भीर आरोप खेपिरेहका छन् । राजनीतिक वृत्तमा शालीन नेताको छवि बनाएका लेखकले यथार्थमा दोहोरो चरित्र देखाएको भन्दै केही समययता सार्वजनिक वृत्तमा उनको चर्को आलोचना हुँदै आएको छ ।
नैतिकताको प्रश्न उठेपछि उनीसम्बद्ध दल नेपाली कांग्रेसकै नेताहरूले समेत उनलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएका थिए/दिइरेहका छन् ।
कांग्रेसबाट गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने आवाज उठाउनेमा नेता डा. शेखर कोइराला सबैभन्दा अग्रपङ्क्तिमा थिए । यसकाे निरन्तरतामा कांग्रेसका सांसदद्वय राजेन्द्र बजगाईं र सुनिल शर्मा पनि देखिएका थिए ।
तर, सभापति शेरबहादुर देउवाको आह्वानमा जेठ १२ गते बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष रहेको निष्कर्ष निकालेपछि लेखकको राजीनामा नदिने ‘मूड’ मा थप बल पुग्यो । साथै, लेखकमाथि आरोप लाग्दाताकादेखि नै सत्तारूढ नेकपा (एमाले) का केही मन्त्री (सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ) कै पनि उनलाई समर्थन मिलेको थियो ।
यता, विपक्षी दलहरूले भने गृहमन्त्री लेखकको राजीनामालाई ‘बटमालाइन’ बनाएर संसद् अवरोध गरिरहेका छन् ।
प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) सहितका विपक्षी दलहरूले मन्त्री लेखकको राजीनामा माग गर्दै बजेट प्रस्तुत हुनुअगावैदेखि संसद अवरोध गर्न थालेका थिए । तर, कानुनतः जेठ १५ गते बजेट ल्याउनै पर्ने सरकारको बाध्यात्मक परिस्थितिलाई ध्यानमा राख्दै उनीहरूले उदारता देखाएका कारण आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आइसकेको छ ।
यद्यपि, संसदका आगामी कामकारबाही भने अगाडि बढ्न नदिनेमा उनीहरू अडिग छन् । यसबीच संसदको अवरोध खुलाउने विषयमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विपक्षी दलहरूसँग छलफल गरे पनि नतिजा शून्य रह्यो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले त गृहमन्त्रीको राजीनामाले मात्रै नपुग्ने भन्दै उनलाई कारबाही हुनुपर्ने समेत बताएको छ ।
तर, मानव तस्करीजस्तो गम्भीर अपराधमा संलग्नताको आरोप लागेपछि स्वविवेकले राजीनामा दिएर अनुसन्धानका लागि मार्गप्रशस्त गर्नुपर्ने गृहमन्त्री लेखकले त्यसो गरेनन् । बरु, पदमा टिकिरहने उपायको खोजीतर्फ लागे । ‘गम्भीर आरोप’ को ‘सहज खण्डन’ गर्दै उनले अन्ततः आफूलाई ‘पदलोलुप’ प्रमाणित गरेका छन् ।
जेठ १४ गते आफ्नो बचाउमा पत्रकार सम्मलेन गरेका मन्त्री लेखकले आफूमाथि नियोजित र षडयन्त्रमूलक ढङ्गले आक्रमण भएको र त्यो राजनीतिक स्वार्थप्रेरित रहेको दाबी गरेका थिए ।
चर्को आलोचना खेप्नु परेपछि बीचमा ‘राजीनामाको मूड’ बनाएका उनलाई सत्ताधारी कांग्रेसबाटै पनि आधिकारिक रूपमा समर्थन मिलेपछि राजीनामाको दिशामा जानु परेन । अर्कातिर, वर्तमान सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीकाे समेत उनले साथ पाउँदै आएका छन् ।
जेठ १४ गते बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस शेरबहादुर देउवासहितका नेताहरूबीच भएको छलफलमा पनि दुवै दलले गृहमन्त्री लेखकले राजीनामा दिन नपर्ने निष्कर्ष निकालेका थिए । बैठकमा गृहमन्त्री लेखकले राजीनामा दिने मनसाय व्यक्त गरे पनि प्रधानमन्त्री ओलीले यो ‘गठबन्धनमाथिको आक्रमण’ भएको भन्दै राजीनामाको कुरै नगर्न भनेका थिए ।
मन्त्री लेखकले आज शनिबार मात्रै पनि प्रधानमन्त्री ओलीकाे थप ‘आशीवार्द’ पाएका छन् । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पनि मन्त्री लेखकको बचाउ गरेका छन् । यससँगै राजीनामाका लागि स्वयम् ‘अनिच्छुक’ रहेका गृहमन्त्री लेखकलाई ‘के खोज्छस् … आँखाे ?’ भनेझैँ भएको छ ।
प्रधानमन्त्री ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री राजीनामा माग्नु अनुचित क्रियाकलाप भएको बताएका छन् । गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग (बटमलाइन) राखेर सदन अवरोध गर्न नहुने उनको भनाइ छ ।
‘म प्रतिपक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु । तर, माग राख्दा वा विरोध गर्दा आधार चाहिँ चाहिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘गृह मन्त्रालयमातहत धेरै कर्मचारी छन् । एउटा कर्मचारीलाई अख्तियारले बोलायो । बयान लिएको सुनेको छैन । प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वाभाविक मान्नु पर्दैन ।’
उनले पूर्वगृहमन्त्री रवि लामिछानेको राजीनामा माग हुँदा उनीमाथि गृहमातहतको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको समय भएको भन्दै अहिलेको अवस्था त्यस्तो नभएको बताए । विपक्षीले विरोध गर्न निहुँ नपाएर निहुँ मात्रै खोजिएको उनको धारणा छ ।
‘पोहोर तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उहाँमाथि गृहमातहतको सीआईबीले छानबिन गरिरहेको थियो । अहिले त्यस्तो अवस्था होइन,’ उनले भने, ‘त्यसकारण अहिले विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै हो । यसरी विरोध गरिएको छ कि मानौँ ३५ किलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन ।’
उनले बच्चाहरूले झोला वा खेलौना, हात्ती किनिदेउ भन्दा किनिदिन सकिने भए पनि सक्कली हात्तीलाई झोलामा हालिदेऊ भन्दा हाल्न नसकिएजस्तै विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामाको माग पूरा हुन सम्भव नहुने बताए ।
FACEBOOK COMMENTS