काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध मुद्दा दायर हुनुमा राजनीतिक प्रतिशोध रहेको हुन सक्ने बताएका छन् ।
संसद भवन परिसरमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले अध्यक्ष नेपालविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिशोधको गन्ध आएको टिप्पणी गरेका हुन् ।
‘अदालतले नेपालमाथि न्याय गर्छ भन्ने ठान्छु । तर, कुरा के छ भने प्रधानमन्त्रीजीको अलिकति राजनीतिक प्रतिशोधको गन्ध आएको छ । अख्तियारले नै कहीँ न कहीँ एउटा गम्भीर प्रश्न जन्माएको छ,’ प्रचण्डले भने, ‘पहिला अख्तियारले प्रधानमन्त्रीको बारेमा र क्याबिनेटको निर्णयमा नीतिगत निर्णयको विषय अख्तियारको क्षेत्रभन्दा बाहिरको कुरा भएकोले ललिता निवास प्रकरणमा बाबुराम भट्टराई र माधव नेपालको बारेमा जे प्रश्न उठेको थियो यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन, जे गर्नुछ क्याबिनेटले नै गरोस् भनेर लेखेको पत्र मैले नै हेरेको छु । तर, अहिले त्यही अख्तियारले माधवजीले गरेको त नीतिगत निर्णय हो जे गरेको भए पनि, यसैमा फेरि प्रश्न गरेकोले प्रश्न उठेको छ, सायद अख्तियारले जवाफ देला ।’
प्रचण्डले यसले सबै प्रधानमन्त्री छानबिनको दायरामा आउने बताउँदै नीतिगत निर्णय अख्तियारको अधिकारमा पर्छ कि पर्दैन भन्ने बहस सुरू भएको बताए ।