काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) रमेश खरेलले निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाभ्रष्टाचारी भएको बताएका छन् ।
एक टेलिभिजन अन्तर्वार्ताका क्रममा उनले केपी शर्मा ओली महाभ्रष्टाचारी भएको तर गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनमा गोली चलाउने आदेश भने नदिएको दाबी गरेका हुन् ।
‘खड्ग प्रसाद ओली महाभ्रष्टाचारी हो, शेरबहादुर देउवा भ्रष्टाचारी हो, प्रचण्डजी महाभ्रष्टाचारी हो । यो कुरा मैले बताइरहनै पर्दैन । तर, यसरी गोली चलाउनू भनेर कसैले पनि भन्दैन है । यो कुरा जनताका अगाडि मैले छातीमा हात राखेर भनेको हुँ । मैले ढाँट्न जानेको छैन,’ पूर्वडीआईजी खरेलले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीहरूले गोली चलिसकेपछि मात्रै थाहा पाउने हो । ‘डेलिगेशन अफ अथोरिटी’ अनुसार यो सबै जिम्मेवारी भ्यालीको हो, त्यो इमिडेट कमाण्डरकै हो ।’
प्रहरीको ऐन/कानुन र स्थानीय प्रशासन ऐन २०२८ अनुसार मैदानमा खटिएको प्रहरीले परिस्थिति हेरेर गोली चलाउन सक्ने उनको भनाइ छ । ‘मैदानमा खटिएको कमाण्डरले कसैको आदेश कुर्नु पर्दैन । फिल्ड कमाण्डरलई कसैको आदेश चाहिँदैन । मैदानमा भएको कमाण्डरले नै बिवेक प्रयोग गर्ने हो,’ उनले भने ।
गोली चलाउन उनीहरूको आदेश नकुरे पनि मैदानमा जे–जे भएका छन् त्यसको नैतिक जिम्मेवारी चाहिँ उहाँहरू (प्रधानमन्त्री र गृहमन्त्री) कै हुने उनले स्पष्ट गरे । कानुनी रुपमा जिल्ला प्रशासन कार्यालय/सीडीओ प्रत्यक्ष जिम्मेवार हुनुपर्ने पनि उनको भनाइ छ । ‘राम्रो हुँदा स्याबासी पाउने र नराम्रो हुँदा करेक्सन हुने पनि जिल्ला प्रशासन नै हो,’ उनले भने ।
पूर्वडीआईजी खरेलले भदौ २३ र २४ को अवस्था सृजना हुनुमा राजनीतिक दल र तिनका नेताहरू नै कारण्क रहेको बताएका छन् । ‘उहाँहरूकै कारण यो अवस्था आयो । बेइमान, भ्रष्टाचारी र ठग त उहाँहरू हो । तिनै महाठगहरूले यो ३२ वर्षसम्म देशलाई जसरी शोषण गरे त्यही कारणले यो विष्फोट भएको हो,’ उनले भने ।
उनले सरकारको कार्यकारी प्रमुख भएका कारणले २३ गतेको घटना सम्बन्धमा केपी ओलीलाई उजुरी लिएर अनुसन्धान गर्न सकिने भए पनि हिरासतमा राख्न नसकिने उनको भनाइ छ । ‘सर्वसाधारणलाई जसरी बयान लिन सकिन्छ, तर यही मुद्दामा थुनेर थप कारबाही गर्न असहज हुन्छ । उहाँहरूलाई थुन्नका लागि प्रसस्त आधारहरू अरु थुप्रै छन् । त्यसबाट पछि हट्नचाहिँ हुँदैन,’ उनले भने ।
गृहमन्त्रीले आफूसँग व्यक्तिगत दुष्मनी राखेजस्तो व्यवहार देखियो : केपी ओली
FACEBOOK COMMENTS