बाजुरा । गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको छ ।
सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका-८ सुवाकाँध, वीरेखोला, नुनेपानी क्षेत्रमा पहिरोले करिब ३२ वटा विद्युत्का खम्बा ढालेपछि विद्युत् आपूर्ति बन्द भएको हो । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराका निमित्त प्रमुख लोकराज जोशीकाअनुसार सुवाकाँधमा सडकमाथिबाट ठूलो पहिरो खस्दा सात र वीरेखोला क्षेत्रमा २५ वटा खम्बा ढलेका छन् ।
गएराति करिब ९ बजेदेखि जिल्लाभर विद्युत् सेवा बन्द भएकामा हालसम्म सञ्चालन नभएको उनले बताए । अवरुद्ध विद्युत् सेवा सञ्चालन आज दिनभर प्राविधिकको टोली खटिए वर्षा सुरु भएपछि कार्यक्षेत्रबाट फर्किएका जोशीले बताए । अछामबाट जिल्ला सदरमुकाम मार्तडीसम्म ३३ केभी राष्ट्रिय प्रसारण लाइनको विद्युत् सञ्चालनमा छ ।
जिल्लामा शनिबारदेखि लगातार परेको वर्षाका कारण साँफे-मार्तडी सकडखण्डका विभिन्न स्थानमा पहिरो जाँदा विद्युत्का खम्बा तथा प्रसारण लाइनमा क्षति पुगेपछि जिल्लाभर विद्युत् आपूर्ति बन्द भएको छ । विद्युत् सेवा बन्द हुँदा सदरमुकाम मार्तडीसहित अन्य क्षेत्रका घरपरिवार अँध्यारोमा बस्न बाध्य भएका छन् भने विद्युत्बाट सञ्चालन हुने सम्पूर्ण कामकाज प्रभावित भएका छन् ।