काठमाडौं । विगत सात बर्षदेखि सञ्चालनमा रहेको रुपन्देहीको सियारी–५ स्थित लुम्विनी प्यालेस रिसोर्ट अब लुम्बिनी म्यारियोट रिसोर्ट एण्ड स्पाको ब्राण्डमा पाँचतारे होटल सञ्चालन हुने भएको छ ।
लुम्विनी प्यालेस रिसोर्ट लिमिटेडले आफ्नो सेवालाई स्तरोन्नती गर्न नयाँ चेन ब्राण्डमा पाँचतारे होटल सञ्चालन गर्न लागेको जानकारी दिएको हो । योसँगै चेन ब्राण्ड म्यारियोट इन्टरनेसनलको राजधानी काठमाडौं बाहिर पहिलो उपस्थिति हुनेछ । यससम्वन्धमा ग्लोबल हस्पिटालिटि लाइसेन्सिङ एस.ए.आर.एल. (म्यारियट इन्टरनेसनल)सँग होटल व्यवस्थापन सम्झौता (एचएमए) भएको लुम्विनी प्यालेसले जनाएको छ ।
सम्झौताका क्रममा रिसोर्टका अध्यक्ष दीपक पाण्डेय, प्रबन्ध सञ्चालक रोशन न्यौपाने, रिसोर्टका अरु सञ्चालक एवं व्यवस्थापन, म्यारियट इन्टरनेसनलका एशिया प्यासिफिक हेर्ने प्रमुख सञ्चालन अधिकृत नीरज गोभिल, वरिष्ठ उपाध्यक्ष किरन एण्डिकोट, उपाध्यक्ष जुही रोयलगायत सहभागी भएको जनाइएको छ ।
लुम्विनी प्यालेस रिसोर्टले यसै आर्थिक वर्षको अन्तसम्ममा पाँचतारे रिसोर्टको सञ्चालन अनुमति लिने लक्ष्य लिएको छ । नेपालको पर्यटन उद्योगमै नयाँ सुविधाहरुसहित पहिलो र एकमात्र वाटर रिसोर्टको रुपमा सञ्चालन हुने यस रिसोर्टमा अत्याधुनिक, फुटुरिस्टिक एवं उच्चप्रविधियुक्त वाटर फाउन्टेन्स, वाटर शोज, म्युजिकल फाउन्टेन्स, थ्रीडी वाटर स्क्रिन्स, मोटर बोटिङ, मिनि क्रुज, वाटर रेस्टुरेन्ट, वाटर स्पा लगायतका सुविधा उपलब्ध हुने कम्पनीको भनाई छ । साथै, रिसोर्टले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्नको लागि आवश्यक तयारी समेत अघि बढाइएको छ ।
FACEBOOK COMMENTS