काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले बजेटको प्राथमिकता आन्तरिक अर्थतन्त्रलाई सुधार गरी शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने रहेको बताएका छन् ।
आज बिहीबार काठमाडौंमा भएको प्रि–बजेट छलफल कार्यक्रममा उनले सरकारको प्रमुख प्राथमिकता आन्तरिक अर्थतन्त्रलाई सुधार गरी चलायमान बनाउने रहेकाले सोही अनुसारको बजेट आउने बताएका हुन् ।
विगतमा वाह्य अर्थतन्त्रलाई सुधार गर्नुपर्ने दबाब भए पनि अहिले वाह्य अर्थतन्त्र सकारात्मक भएको भन्दै आन्तरिक अर्थतन्त्रमा सुधारको आवश्यकता देखिएको उनले बताए । उनले सरकारसँग विदेशी मुद्रा सञ्चिति मात्रै १२ महिना भन्दा बढी आयात र निर्यात गर्नसक्ने क्षमता रहेको बताएका छन् ।
अर्थसचिव मरासिनीले बजेट र मौद्रिक नीति अर्थतन्त्रमा देखिएको शिथिलतालाई चिर्नसक्ने गरी आउने दाबी गरेका छन् । सरकारले ल्याउने बजेटले अर्थतन्त्रलाई चलायमान बनाएर सरकारले सोचे अनुसारको आर्थिक वृद्धि गर्ने र निजी क्षेत्रको मनोबल उच्च बनाउने जिकिर उनको छ ।
उनले अहिले केही क्षेत्रगत समस्याहरू रहेको भन्दै क्षेत्रगत समस्यालाई सुधार गर्न आवश्यक रहेको बताए । जलविद्युतमा निजी क्षेत्र प्रवेशसँगै उत्पादनमा फड्को मारेको भन्दै अब वितरण र निर्यातमा पनि फड्को मार्नसक्ने वातावरण सरकारले बनाउनुपर्ने उनले बताए ।
जलविद्युत् नेपालको तुलनात्मक लाभको क्षेत्र भएकाले हरित अर्थतन्त्रको रूपमा विकसित गरी बजेट तर्जुमा गरिने उनको भनाइ छ ।
आगामी बजेट कस्तो हुनुपर्छ ? यस्तो छ, नेपाल उद्योग वाणिज्य महासंघको सुझाव (पूर्णपाठ)
FACEBOOK COMMENTS