काठमाडौं । महालक्ष्मी विकास बैंक ले आफ्नो ३२औँ वार्षिकोत्सवको अवसर पारेर ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५’ आयोजना गर्ने भएको छ । प्रतियोगिता जेठ १७ गतेदेखि २० गतेसम्म काठमाडौंको रोयल स्पोर्टस् पार्क मा सञ्चालन हुनेछ ।
हरेक वर्ष आयोजना हुँदै आएको उक्त क्रिकेट लिग यस वर्ष पनि कर्पोरेट क्षेत्रका बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र मर्चेन्ट बैंकहरूको सहभागितासहित हुने भएको हो । प्रतियोगितामा ९ वाणिज्य बैंक, ७ विकास बैंक, ३ वित्त कम्पनी, १ लघुवित्त संस्था, ३ बीमा कम्पनी तथा १ मर्चेन्ट बैंक गरी २४ टोलीको सहभागिता रहनेछ ।
लिगमा कुल ४५ खेल खेलाइनेछन् भने करिब २४० खेलाडी सहभागी हुने बैंकले जनाएको छ । सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिनेछ र प्रत्येक समूहबाट उत्कृष्ट टोली ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिताका खेल १० ओभर प्रतिइनिङ्सको ढाँचामा सञ्चालन हुनेछन् ।
प्रतियोगिताको उद्घाटन समारोह जेठ १७ गते आयोजना गरिनेछ भने समापन तथा पुरस्कार वितरण कार्यक्रम जेठ २२ गते हुनेछ । बुधबार आयोजित प्रि–टुर्नामेन्ट मिट तथा टाइ–सिट कार्यक्रममा विजेता तथा उपविजेता ट्रफी सार्वजनिक गर्नुका साथै टोली कप्तानहरूलाई जर्सी वितरण गरिएको थियो ।
प्रतियोगितामा माछापुच्छ्रे बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाको सहभागिता रहनेछ ।

त्यसैगरी गरिमा विकास बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड, ज्योति विकास बैंक लिमिटेड, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड, आईसीएफसी फाइनान्स लिमिटेड, मञ्जुश्री फाइनान्स लिमिटेड, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेड तथा एनआइएमबि एस क्यापिटल लिमिटेड को पनि सहभागिता रहनेछ ।

प्रतियोगितामा विजेता र उपविजेता टोलीसहित ‘म्यान अफ द सिरिज’, ‘बेस्ट ब्याट्सम्यान’, ‘बेस्ट बलर’, ‘बेस्ट विकेट किपर’, ‘बेस्ट फिल्डर’ र ‘फेयर प्ले अवार्ड’ लगायत विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।

प्रतियोगिताका सम्पूर्ण खेलहरू बैंकको आधिकारिक युट्युब च्यानल तथा नेवा टेलिभिजन र त्यसको युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।
“सबल बैंक, सफल सहकार्य” भन्ने नारासहित सेवा दिँदै आएको महालक्ष्मी विकास बैंकका देशभर १०३ शाखा कार्यालय रहेका छन् भने बैंकका ग्राहक संख्या ८ लाखभन्दा बढी रहेको बैंकले जनाएको छ ।