काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंककारी गतिविधि र आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक तथा सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रका विज्ञ डा. हरिकुमार नेपालले बीमा क्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था, नियामकीय मापदण्ड तथा व्यावहारिक कार्यान्वयनबारे विस्तृत प्रस्तुति दिएका थिए ।
कार्यक्रमका क्रममा डा. नेपालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी प्रावधान, नियामकीय निर्देशन, जोखिम पहिचान तथा व्यवस्थापन, ग्राहक पहिचान प्रक्रिया, शंकास्पद कारोबार पहिचान तथा अन्तर्राष्ट्रिय अभ्यासबारे विस्तृत जानकारी दिए ।
कार्यक्रममा कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अनुपालनलाई कम्पनीको दीर्घकालीन स्थायित्वका लागि अत्यन्त महत्त्वपूर्ण पक्षका रूपमा उल्लेख गरे । उनले प्रभावकारी अनुपालनले मात्रै संस्थालाई सुरक्षित, विश्वसनीय तथा दिगो बनाउन सक्ने धारणा व्यक्त गरे ।
त्यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रचलित कानुनको व्यावहारिक कार्यान्वयनको महत्त्वमा जोड दिँदै नियामकीय आवश्यकताहरूलाई नीतिगत तहमा मात्र सीमित नराखी दैनिक कार्यप्रणालीमै प्रभावकारी रूपमा लागू गरिएको बताए ।

कम्पनीले यस प्रशिक्षणमार्फत व्यावहारिक ज्ञान अभिवृद्धि भई वित्तीय अपराध न्यूनीकरण, संस्थागत सुशासन सुदृढीकरण तथा वित्तीय पारदर्शिता कायम गर्न महत्त्वपूर्ण सहयोग पुगेको जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिँदै सम्पत्ति शुद्धीकरण निवारण, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन तथा अनुपालन प्रणालीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।