काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापनका लागि विभिन्न उद्धार सामग्रीहरू हस्तान्तरण गरेको छ ।
बिहिवार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरलाई सो कम्पनीका कार्यवाहक सिइओ कवि फुयाँलले उक्त सामग्रीहरू हस्तान्तरण गरेको हो ।
हस्तान्तरण गरिएको सामग्रीहरूमा ७ रोल डाइनामिक रोप, ७ रोल स्टाटिक रोप, ७० वटा लक क्याराबिनर, १४ वटा थ्रो ब्याग र ६० वटा प्याडल्स रहेका छन् ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरले सहयोग स्वरुप प्राप्त सामग्रीहरूले विपद् उद्धार टोलीको कार्यक्षमता अभिवृद्धि गर्ने र कठिन परिस्थितिमा जनताको ज्यान जोगाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी, कम्पनी लिमिटेडका सिइओ कवि फुयाँलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुरक्षा पूर्व तयारी भन्ने नाराकासाथ विपद्को समयमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीलाई सहयोग पुर्याउनु कम्पनीको उद्देश्य रहेको बताए ।

