काठमाडौं । नेपालका लागि वुलिङ मोटर्सको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा वुलिङका चार नयाँ विद्युतीय गाडी सार्वजनिक गर्ने भएको छ ।
विश्वप्रसिद्ध एसएआईसी–जीएम–वुलिङ समूहद्वारा निर्मित यी गाडीहरूले नेपाली बजारमा परिवार, सहरी प्रयोग तथा लामो दूरीका यात्रुलाई लक्षित गर्दै नयाँ विकल्प थप्ने कम्पनीले जनाएको छ ।

सन् १९५८ देखि उत्पादन सुरु गरेको वुलिङ ब्रान्डले हालसम्म विश्वभर तीन करोडभन्दा बढी सवारीसाधन उत्पादन गरिसकेको छ । किफायती मूल्य, भरपर्दो प्रविधि र आधुनिक सुविधाका कारण विश्व बजारमा लोकप्रिय बनेको वुलिङले नेपालमा पनि आफ्नो विद्युतीय गाडीको दायरा विस्तार गर्न लागेको हो ।
कम्पनीले एक्स्पोमा वुलिङ एक्सिओन ईभी, वुलिङ मिनी ईभी, वुलिङ डेरियन एमपीभी ईभी र वुलिङ बिंगो ईभी सार्वजनिक गर्ने जनाएको छ ।


ठूला परिवारलाई लक्षित गरिएको वुलिङ एक्सिओन ईभी सात सिट क्षमताको एसयूभी हो । यसमा ६९.२ किलोवाट–घण्टाको ब्याट्री रहेको छ, जसले एकपटकको चार्जमा अधिकतम ५३० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ ।
आवश्यकताअनुसार पाँच वा सात सिटमा प्रयोग गर्न मिल्ने यो गाडीमा ३६० डिग्री क्यामेरा, एडास सुरक्षा प्रणाली, ठूलो बुट स्पेस तथा आधुनिक सुरक्षा सुविधाहरू समावेश गरिएका छन् ।
वुलिङ मिनी ईभी चार ढोकायुक्त कम्प्याक्ट विद्युतीय कार हो । सहरी सडकलाई लक्षित गरी तयार गरिएको यो गाडीले एक पटकको चार्जमा ३०१ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ । यसमा डीसी फास्ट चार्जिङ सुविधा पनि उपलब्ध हुनेछ । कम्पनीका अनुसार, नेपाली बजारमा उपलब्ध धेरै मिनी ईभीभन्दा कम मूल्यमा बढी सुविधा दिने लक्ष्य राखिएको छ ।
वुलिङ डेरियन एमपीभी ईभी सात सिट क्षमताको प्रिमियम गाडी हो । लामो दुरीको यात्रा तथा पारिवारिक प्रयोगका लागि उपयुक्त मानिएको यसमा ५४० किलोमिटरसम्मको रेन्ज, स्लाइडिङ ढोका तथा आरामदायी इन्टेरियर उपलब्ध हुनेछ ।

त्यसैगरी, नेपाली बजारमा लोकप्रिय वुलिङ बिंगो ईभी अब थप परिष्कृत सुविधासहित आउने भएको छ । यो गाडी ३१.९ किलोवाट–घण्टा र ३७.९ किलोवाट–घण्टा ब्याट्री विकल्पमा उपलब्ध हुनेछ, जसले क्रमश: ३३३ र ४१० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ ।
यसमा १०.२५ इन्चको डुअल स्क्रिन, ७९० लिटर कार्गो स्पेस, एबीएस, ईबीडी तथा भेरियन्टअनुसार ६ वटासम्म एयरब्याग जस्ता सुरक्षा सुविधाहरू समावेश छन् ।
प्यारामाउन्ट मोटर्सले देशभर रहेका आफ्ना शोरुम तथा सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा पनि उपलब्ध गराउँदै आएको जनाएको छ ।
कम्पनीका अनुसार, आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा यी सबै नयाँ गाडी प्रत्यक्ष अवलोकन तथा अनुभव गर्ने अवसर सर्वसाधारणले पाउनेछन् ।