काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ । एक्स्पोमा सहभागी हुने विभिन्न ब्रान्डका स्टल निर्माण तथा व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ।
एक्स्पोमा ५१ वटा स्टलमा ५५ भन्दा बढी ब्रान्ड सहभागी हुनेछन् भने ४० भन्दा बढी नयाँ मोडल तथा सवारीसाधन सार्वजनिक गर्ने तयारी गरिएको छ।
आयोजकका अनुसार एक्स्पोमा २० लाख रुपैयाँदेखि साढे ३ करोड रुपैयाँसम्म मूल्य पर्ने विद्युतीय सवारीसाधन प्रदर्शनीमा राखिनेछन् । दुई पाङ्ग्रे सवारीतर्फ १८ र चार पाङ्ग्रे सवारीतर्फ २९ नयाँ ब्रान्ड सार्वजनिक हुनेछन् ।
नयाँ मोडलका सवारीसाधनको लन्चिङ, विभिन्न ब्रान्डको सहभागिता, डिजिटल टिकटमा क्यासब्याक, फुड कोर्ट तथा अटो मोबाइल उद्योगसम्बन्धी ज्ञान आदानप्रदानका कार्यक्रम एक्स्पोका प्रमुख आकर्षण रहने आयोजकले जनाएको छ।
गत वर्षको एक्स्पोमा एक लाखभन्दा बढी आगन्तुकले अवलोकन गरेका थिए । यस पटक भने गत वर्षको तुलनामा अझ बढी आगन्तुक भित्र्याउने लक्ष्य आयोजकले लिएको छ। स्टल निर्माण, पेन्टिङ, लाइटिङ तथा डेकोरेसनको काम तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ।
यसपटकको एक्स्पोको मुख्य आकर्षण ४० वटा नयाँ ब्रान्ड तथा मोडलको सार्वजनिक तथा प्रदर्शन रहनेछ। बीवाइडी, निसान, टाटा, टोयोटा, हुन्डाई, किया, महिन्द्रालगायत स्थापित ब्रान्डसँगै फोर्थिङ, डोङफेङ, लिपमोटर र म्याक्ससजस्ता नयाँ ब्रान्डको समेत सहभागिता रहनेछ।
पारामाउन्ट मोटर्सले एक्स्पोमा ८ वटा नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ। त्यस्तै, टोयोटाले दुई नयाँ मोडल सार्वजनिक गर्नेछ।टोयोटाले एक्स्पो अवधिमा गाडी खरिदमा ३ लाखदेखि २१ लाख रुपैयाँसम्म छुट दिने घोषणा गरेको छ।
पारामाउन्टको स्टलमा होङ्ची गुओली पनि मुख्य आकर्षणका रूपमा रहनेछ। एक्स्पोमा चारपांग्रे सवारीसँगै दुईपांग्रे तथा तीनपांग्रे सवारी, कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोलुसन, चार्जिङ प्रविधि र अन्य आधुनिक मोबिलिटी उत्पादनसमेत प्रदर्शन गरिनेछ। यात्रुवाहक विद्युतीय सवारीलाई पनि विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार, एक्स्पोको ब्लु पेभिलियनमा अगस्ट ११ देखि १६ सम्म दैनिक दिउँसो २ देखि ४ बजेसम्म विभिन्न ‘लर्निङ सेसन’ सञ्चालन हुनेछन्।
वैदेशिक प्रत्यक्ष लगानी, इथानोल ब्लेन्डिङ, रिसाइक्लिङ, फाइनान्सिङ, युवा उद्यमशीलता र विकासलगायत विषयमा छलफल हुनेछ।
यसैगरी नेपाल प्रहरी र ग्रान्डी अस्पतालको सहकार्यमा प्रत्येक बिहान ‘दुर्घटनापछिको सुरक्षा र प्रतिक्रिया’ सम्बन्धी तालिम तथा युवा उत्प्रेरणा कार्यक्रम सञ्चालन गरिने नाइमाले जनाएको छ।