काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीतिअनुरूप विभिन्न्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।
सोहीअन्तर्गत बैंकको पालुङ शाखाद्वारा थाहा नगरपालिका-११, देउराली, मकवानपुरस्थित कालीदेवी प्राथमिक विद्यालयमा अध्ययनरत ८३ जना विधार्थीहरूमध्ये ५५ जना विपन्न वर्गका विद्यार्थीहरूमा न्यानो कपडाको अभावमा जाडो मौसममा विभिन्न स्वास्थ्य समस्याहरू देखिएको र पठनपाठनमा समेत प्रत्यक्ष रूपमा असर पर्न गएकाले बैंकको पालुङ शाखाद्वारा पुस २७ गते एक कार्यक्रमका बीच ५५ थान पोलार ज्याकेट वितरण गरिएको छ ।
साथै सर्वोदय परियोजना नामक गैरसरकारी संस्थासँगको समन्वयमा दृष्टिविहीन कलाकारहरूको असाधारण प्रतिभालाई उजागर गर्दै समावेशिता, विविधता र सिर्जनशीलतालाई प्रवर्द्धन गर्न आयोजित ‘अदृश्य मोतीहरू’ नामक कार्यक्रम सञ्चालन गर्नका निमित्त बैंकले आर्थिक सहयोग गरेको छ । यस कार्यबाट अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा प्रस्तुत गर्न तथा समाजमा आफ्नो उपस्थिति देखाउन सहयोग पुग्ने साथै समावेशी समाज निर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरूबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेशनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।
FACEBOOK COMMENTS