काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसरमा देशव्यापी विविध कार्यक्रम सम्पन्न गरेको छ ।
वार्षिकोत्सवलाई महिनाभर विभिन्न कार्यक्रममार्फत भव्यताका साथ मनाउँदै बैंकले महिला उद्यमशीलता प्रवर्द्धनदेखि सामाजिक उत्तरदायित्वमा आधारित गतिविधिहरू सम्पन्न गरेको हो ।
वार्षिकोत्सवको प्रमुख आकर्षणको रूपमा बैंकले देशभरिका आफ्ना शाखाहरू मार्फत ३१ जना महिला उद्यमीहरूलाई सम्मान गरेको छ। वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक समावेशिता र लैंगिक समानता प्रवर्द्धन गर्ने उद्देश्यले उक्त सम्मान प्रदान गरिएको बैंकले जनाएको छ ।
त्यसैगरी, बैंकले जेठ ६ गते देशभरका १० शाखा र केन्द्रीय कार्यालयमा बृहत रक्तदान कार्यक्रम सञ्चालन गरी ३२० पिन्ट रगत संकलन गरेको छ। रक्त अभावको समस्यालाई सम्बोधन गर्न बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
वार्षिकोत्सवकै सिलसिलामा जेठ ७ गते बैंकका सम्पूर्ण शाखा, प्रादेशिक तथा केन्द्रीय कार्यालयका कर्मचारीहरू स्थानीय भेषभूषामा सुसज्जित भई सांस्कृतिक विविधतालाई उजागर गरेका थिए। सोही दिन केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर र आँखा परीक्षण शिविर पनि सञ्चालन गरिएको थियो ।

बैंकले देशभर वित्तीय साक्षरताको सन्देश फैलाउन प्रभातफेरी कार्यक्रम समेत आयोजना गर्यो, जहाँ मोबाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण सेवा सम्बन्धी जनचेतनामूलक प्लेकार्ड प्रदर्शन गरिएको थियो।

वार्षिकोत्सवको अर्को विशेष कार्यक्रमको रूपमा बैंकले “महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५ – श्रृङखला ४” आयोजना गर्नेछ। जेठ २१ देखि २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा २४ वटा टिमको सहभागिता रहनेछ। बैंकले विगत तीन वर्षदेखि कर्पोरेट लिग सफलतापूर्वक सञ्चालन गर्दै आएको छ ।

बैंकले यस्ता कार्यक्रममार्फत वित्तीय समावेशिता, सामाजिक उत्तरदायित्व र संस्थागत सशक्तिकरणलाई सँगै अघि बढाउने अठोट जनाएको छ।